पोखरामा ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु

पोखरा । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत पोखरामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा बुधबार ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित प्रभातफेरी निकालिएको हो ।

पोखराको सहिदचोकबाट सुरु भएको प्रभातफेरी राष्ट्र बैंकचोक, ड्यामसाइड हुँदै बिरौटा चोक पुगेर समापन भएको थियो । कार्यक्रममा कास्की प्रहरीले ऐक्यबद्धता जनाउँदै प्रहरी कर्मचारीसहित सहभागिता जनाएको थियो ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

अभियानमार्फत लैंगिक हिंसाविरुद्ध सामाजिक ऐक्यबद्धता कायम गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चितताका लागि सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

Exit mobile version