गण्डकी प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाअन्तर्गत पाँचौँ तहका विभिन्न प्राविधिक र अप्राविधिक पदहरूमा ठुलो सङ्ख्यामा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।
आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिता र बढुवा प्रक्रियामार्फत रिक्त पदहरू पूर्ति गर्ने प्रक्रिया अघि बढाएको हो।
गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ तथा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ।
प्रदेश तथा स्थानीय तहका विभिन्न निकायबाट माग भई आएका रिक्त पदहरूमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन, कार्यक्षमताको मूल्याङ्कन र खुला तथा समावेशी समूहमा प्रतिशत निर्धारण गरी विज्ञापन प्रकाशित गरिएको हो।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रदेश निजामतीतर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सब-इन्जिनियर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, महिला विकास निरीक्षक, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन पदमा ६ जना तथा कार्यक्षमता मूल्याङ्कनद्वारा वरिष्ठ प्रशासन सहायक, पशु स्वास्थ्य प्राविधिक र हेल्थ असिस्टेन्ट पदमा तीन जनाको बढुवा हुनेछ।
यसैगरी स्थानीय सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ३२ जना तथा कार्यक्षमताको मूल्याङ्कनबाट २७ जना कर्मचारीको विभिन्न पदमा बढुवा गरिनेछ।
खुला तथा समावेशी समूहतर्फ प्राविधिक र अप्राविधिक दुवै सेवामा उल्लेख्य सङ्ख्यामा कर्मचारी माग गरिएको छ।
प्राविधिकतर्फ इन्जिनियरिङ सेवाका सब-इन्जिनियर र सर्वेक्षक, कृषि तथा भेटेरिनरी समूहका प्राविधिक सहायक र पशु स्वास्थ्य प्राविधिक, शिक्षा सेवाका प्राविधिक सहायक तथा स्वास्थ्य सेवाका स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, फार्मेसी सुपरभाइजर, रेडियोग्राफर, डेन्टल हाइजिनिस्ट र एनेस्थेसिया सुपरभाइजरजस्ता पदहरूमा खुला र समावेशी कोटा निर्धारण गरिएको छ।
त्यसैगरी अप्राविधिकतर्फ प्रशासन र स्थानीय सेवाका वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आन्तरिक लेखापरीक्षण सहायक, वरिष्ठ राजस्व सहायक, महिला विकास निरीक्षक तथा तथ्याङ्क सहायक पदमा पदपूर्ति गरिनेछ।
विज्ञापनमा दरखास्त दिन चाहने उम्मेदवारले ध्यान दिनुपर्ने विषयहरू, परीक्षा दस्तुर, दरखास्तको अवधि, अन्तिम मिति तथा आवश्यक न्यूनतम योग्यतासम्बन्धी सम्पूर्ण विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
यस विज्ञापनसम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट ppsc.gandaki.gov.np मा राखिएको छ।
