चीनको विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी (BYD) लाई आफ्नो नयाँ एसयूभी मोडल टीआई७ (Ti7) युरोपमा बिक्री गर्न अस्थायी प्रतिबन्ध लागेको छ।
नेदरल्यान्ड्सको एक अदालतले उक्त गाडीको डिजाइन ल्यान्ड रोभर डिफेन्डरसँग अत्यधिक मिल्दोजुल्दो रहेको ठहर गरेपछि यस्तो प्रतिबन्ध लगाएको हो।
जगुआर ल्यान्ड रोभर (JLR) ले बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै कानुनी चुनौती दिएपछि अदालतले यस्तो निर्णय गरेको हो।
डिफेन्डरको नक्कलजस्तो देखिने भनिएको बीवाईडी टीआई७ आगामी वर्ष बेलायतमा बिक्रीका लागि सार्वजनिक गर्ने तयारी थियो।
यसको प्रारम्भिक मूल्य ४७ हजार ९९५ पाउन्ड (करिब ६२ हजार ८०० अमेरिकी डलर) तोकिएको थियो। यो मूल्य ल्यान्ड रोभर डिफेन्डरभन्दा करिब २४ हजार पाउन्ड (३१ हजार ४०० अमेरिकी डलर) कम हो।
अदालतले बीवाईडीले प्रस्तुत गरेका डिजाइनसम्बन्धी भिन्नताहरूले यी दुई एसयूभीलाई छुट्याउन पर्याप्त नभएको ठहर गरेको छ। थप कानुनी फैसला नआएसम्म बिक्रीमा लगाइएको अस्थायी प्रतिबन्ध कायम रहनेछ।
बीवाईडीले भने अदालतको निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ। कम्पनीले टीआई७ आफ्नै स्वतन्त्र डिजाइन प्रक्रियामार्फत विकास गरिएको दाबी गरेको छ।
यता, जगुआर ल्यान्ड रोभरले आफ्नो बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि कथित डिजाइन नक्कलविरुद्ध कानुनी तथा अन्य कदम जारी राख्ने जनाएको छ।
