चितवनका रिजन सर्वाधिक विकेट लिने खेलाडी, के कुगेलाइनले उछिन्लान् ?

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संकरणमा चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।

टोली क्वालिफायर २ बाट बाहिरिएसँगै उनको विकेट संख्या १७ मै सीमित भए पनि प्रतियोगिताभर उनले देखाएको धारिलो बलिङ प्रदर्शन प्रभावशाली रह्यो ।

रिजनले ८ खेलका ८ इनिङ्समा कुल २७ ओभर बलिङ गर्दै १ सय ६८ रन खर्चेर १७ विकेट हात पारे । उनको बलिङ औसत ९.८८ रहँदा इकोनोमी दर ६.२२ र स्ट्राइक रेट ९.५२ रह्यो । प्रतियोगितामा उनले दुई पटक ४ विकेट लिने क्रममा ४/१६ को उत्कृष्ट बलिङ स्पेलसमेत निकाले ।

चितवनकै कमलसिंह ऐरी र सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन समान १३–१३ विकेटसहित दोस्रो स्थानमा छन् । जनकपुर बोल्ट्सका राहुल यादव र काठमान्डु गोर्खाजका जहानदाद खानले १२–१२ विकेट लिएका छन् ।

चितवनको यात्रा समाप्त भइसकेकाले अब फाइनलमा पुग्ने बलरलाई रिजनको कीर्तिमान भेट्टाउने वा उछिन्ने अवसर छ । शनिबार हुने उपाधि भिडन्तमा सुदूरपश्चिमका कुगेलेइनले ४ विकेट लिएमा रिजनसँग बराबरी गर्नेछन् भने ५ विकेट लिएमा शीर्ष स्थान कब्जा गर्नेछन् । सुदूरपश्चिमकै अमित खरेल १० विकेटसहित पछ्याइरहेका छन् ।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा निरन्तर लयमा देखिएका रिजनको यो प्रदर्शनले चितवनको बलिङ आक्रमणलाई बलियो आधार दिएको थियो । विपक्षी ब्याटरलाई सुरुआती तथा मध्य ओभरमा दबाबमा राख्ने क्षमताकै कारण उनी यो सिजन एनपीएलका सबैभन्दा सफल बलर बन्न सफल भए ।

Exit mobile version