पोखरा । पोखराको पर्यटन प्रवद्र्धनसँगै खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं. ९ ले विशेष सहयोगसहित सहकार्य गर्ने भएको छ ।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने मूल नाराका साथ आगामी पुस १० गते शुक्रबार आयोजना हुने प्रतियोगिताको लागि पोखरा महानगरपालिका वडा नं. ९ ले आर्थिक, भौतिक तथा आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । प्रतियोगिताका लागि वडाले चालु आर्थिक वर्षको रातो किताबमा पाँच लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।
वडा अध्यक्ष मर्सानीले ‘म बनाउँछु मेरो वडा’ भन्ने अवधारणाअनुरूप वडाको पहिचान, पर्यटन प्रवद्र्धन र सामाजिक गतिविधिलाई जोड दिँदै यस्ता सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको सुंयुक्त आयोजनामा हुने प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद र पर्यटनलाई एकसाथ जोड्दै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चिनाउनु हो । रातको समयमा पनि पोखराका सडक सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रात्रिकालीन पर्यटनको सम्भावनालाई उजागर गर्ने लक्ष्य प्रतियोगिताले लिएको छ ।
पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टरप्वाइट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक र न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पोखरा महानगरपालिका वडा नं.९ स्थित अन्तर्राष्ट्रिय झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला, महिला, विद्यार्थी (यू–१६), विदेशी र भेट्रान्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। पहिलो संस्करणमा नर्वे, थाइल्यान्ड, फ्रान्स, इङ्गल्यान्ड लगायत पाँच देशका १४५ जना धावक सहभागी भएका थिए । यस वर्ष सहभागी संख्या र प्रतियोगिताको आकर्षण थप बढ्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगितामा विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दौड पूरा गर्ने सबै धावकलाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ। यस वर्ष भेट्रान्स विधा थप गरिएको र पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।
