पोखरा । पर्यटकीय राजधानी पोखरामा नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा पहिलोपटक रात्रि दौड प्रतियोगिता आयोजना हुने भएको छ । यही चैत २८ गते ‘रात्रि दौड प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको हो ।
नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको उक्त प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधामा विजेतालाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरिनेछ ।
प्रतियोगिताका संयोजक दीननाथ बरालका अनुसार खेल पर्यटनका माध्यमबाट पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पोखरा क्लिकले यसअघि पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अङ्ग्रेजी नयाँ वर्षमा हुने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको तुलनामा नेपाली नयाँ वर्षमा यस्ता कार्यक्रम कम हुने भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणासहित रात्रि दौड आयोजना गर्न लागिएको पोखरा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।
पाँच किलोमिटर दूरीको दौड बाराही घाटबाट सुरु भई लेकसाइड, न्यूरोड र महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर सम्पन्न हुनेछ ।
रात्रिकालीन दौडमार्फत पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकैसाथ प्रवर्द्धन गर्दै पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य आयोजक संस्थाको रहेको छ ।
स्थानीय व्यवसाय, पर्यटन क्षेत्र तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै प्रतियोगिता सञ्चालन गरिने पोखरा प्रवर्द्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिए। प्रतियोगितामा धावकहरूको सुरक्षा, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने पनि उनले बताए।







