बालेनलाई धनको सुझावः -‘अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार सम्झौता गर्नु’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई केही महत्वपूर्ण सुझाव दिएका छन् ।

मेयर आचार्यले भ्रमणकाक्रममा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र क्षेत्रीय पूर्वाधार विकासका विषयमा ठोस सहमति गर्न आग्रह गरेका छन् ।

उनले भूपरिवेष्ठित र सार्वभौम राष्ट्रका रूपमा नेपालले पाउनुपर्ने न्यूनतम हवाई सुविधाको सुनिश्चिततालाई भ्रमणको मुख्य प्राथमिकतामा राख्न ध्यानाकर्षण गराएका हुन् । यद्यपि, उक्त सुझाव भने उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् ।

उनले सिमरा बाहेक थप तीनवटा हवाई प्रवेश रुट प्राप्त गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘एउटा भूपरिवेष्ठित तथा सार्वभौम राष्ट्रले प्राप्त गर्नुपर्ने न्यूनतम अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई प्राथमिकतामा राख्दै, सिमरा बाहेक थप तीनवटा हवाई प्रवेश रुटमार्फत नेपालमा सहज हवाई आवागमन सुनिश्चित गर्ने विषयमा ठोस सहमति हुन आवश्यक छ,’ उनले लेखेका छन् ।

थप हवाई रुटको सहमतिले विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनमा सहयोग पुग्ने मेयर आचार्यको भनाइ छ ।

‘यसबाट विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न प्रमुख सहरहरूमा सिधा हवाई सेवा सञ्चालन गर्ने बाटो खुल्नेछ,’ उनले भने, ‘यो उपलब्धि समग्र पोखरा तथा गण्डकी प्रदेशको पर्यटन, आर्थिक विकास र समृद्धिका लागि ऐतिहासिक कोसेढुङ्गा साबित हुनेछ ।’

आचार्यले पोखरा–सुनौली फास्ट ट्र्याक निर्माणको विषयलाई भारत भ्रमणको प्राथमिकता प्राप्त एजेन्डामा समावेश गर्न आग्रह गरेका छन् । द्विपक्षीय वार्ताका क्रममा नेपाल र भारतबीचको सम्बन्धको मर्मअनुसार नै नतिजा आउने उनले बताए ।

‘यी दुबै एजेन्डामा दुई देशबीच पारस्परिक सम्मान, समान अधिकार र असल छिमेकीको वास्तविक अनुभूति हुने गरी ठोस सहमति हुने विश्वास लिएका छौँ,’ आचार्यले उल्लेख गरेका छन् ।

Exit mobile version