राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्।
लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।
निजी तथा पारिवारिक तीर्थाटनका क्रममा हुन लागेको यस भ्रमणबारे पार्टी पङ्क्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराइएको सचिवालयले जनाएको छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किनेछन्।







