सभापति लामिछाने चीन जाँदै, उच्चस्तरीय भेटको तयारी

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उत्तरी छिमेकी चीन जाने भएका छन् । उनी यही साउनमा चीन भ्रमणमा जाने भएका हुन् ।

रास्वपाका आफूनिकट केही नेता र सांसदसहित उनी बेइजिङ जान लागेका हुन् । भ्रमणका क्रममा उनले त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसहितका उच्च सरकारी अधिकारीलाई भेट्ने भएका छन् ।

भ्रमणका क्रममा भेट्ने अन्य अधिकारीबारे केही खुलाइएको छैन । रविनिकट स्रोतका अनुसार यो भ्रमणमा फागुन २१ को निर्वाचनपछि बदलिएको नेपालको राजनीतिक परिस्थितिअनुसार रविले विश्वासको वातावरण बनाउने प्रयास गर्नेछन् ।

रास्वपा सरकारमा आएयता प्रधानमन्त्री वालेन्द्र शाहले अझै पनि भारतीय र चिनियाँ राजदूतसँग संवाद गरेका छैनन् । दुई निकट छिमेकीसँग प्रधानमन्त्रीले संवाद गर्न नचाहेको अवस्थामा रविले नै पहलकदमी लिएका हुन् ।

‘सभापति नेतृत्वको टोली बेइजिङ जाने निश्चित भएको छ। यही साउनभित्रै भ्रमण हुनेछ । चार सदस्यीय टोलीसिहत जाने कुराको टुंगो भइसकेको छ’, स्रोत भन्छ, ‘तर टोलीमा को को हुन्छन्, खुलाइएको छैन ।’

यस भ्रमणमा विदेशमन्त्री वाङ यीसहितका अधिकारीसँग रविले नेपाल-चीन सम्बन्धबारे विस्तृत छलफल गर्ने भएका छन्। पछिल्लो समय नयाँ सरकार र दुई छिमेकीबीच संवादहीनताको अवस्था छ ।

तर वालेन्द्रले आफ्नो भारत भ्रमणका लागि भन्दै प्रमुख सल्लाहकार कुमार बेनलाई केही समयअघि नयाँ दिल्ली पठाएको खुलेको छ।

बेनले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेको खुलेको छ। सरकारले सय दिन पूरा गरिसकेकाले अब बालेन निकट छिमेकीहरूको भ्रमणका लागि तयार हुँदैछन् ।

Scroll to Top