सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।
इलाका प्रहरी कार्यालय दुहबी र त्यहाँको सीआरभी टोलीले खोजतलास गर्ने क्रममा दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला पारेको थियो।
एम्बुलेन्स जाँच गर्दा गाँजाजस्तो देखिने पदार्थ ५७४ किलो ८७० ग्राम बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
