प्रियागोल्ड बिस्कुटमा सरकारले लगायो प्रतिबन्ध

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका सबै बिस्कुट तत्काल फिर्ता गरी नष्ट गर्न पनि निर्देशन दिएको छ।

विभागले आइतबार सूचना जारी गर्दै सबै ब्याच र उत्पादन मितिका प्रियागोल्ड बिस्कुटको बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न सम्बन्धित आयातकर्ता तथा खाद्य व्यवसायीलाई निर्देशन दिएको हो।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्णरूपमा स्थगन गर्ने निर्णय गरेको हो।

भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा नेपालले यस्तो निर्णय गरेको विभागले जनाएको छ।

भारतमा उपभोक्ताको उजुरीपछि प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेडको कारखाना निरीक्षण गर्दा गम्भीर लापरबाही फेला पारेको थियो।

निरीक्षणका क्रममा बिस्कुटमा रेसा ९फाइबर० को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरेको भेटिएको थियो। उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको थियो।

कारखानामा सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत गम्भीर कमजोरी भेटिएको थियो। त्यसपछि भारतमा उक्त कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ।

विभागले बजारबाट फिर्ता गरिएका बिस्कुट स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का उठाएर सुरक्षित रूपमा नष्ट गर्नुपर्ने व्यवस्था गरेको छ।

निर्देशनको बेवास्ता गरी बिस्कुटको बिक्री वितरण जारी राखेमा वा जनस्वास्थ्यमा असर पर्ने कार्य गरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।

Exit mobile version