अब बुर्किना फासोमा सुन्दरी प्रतियोगिता नहुने, विज्ञान प्रतियोगितामा जोड दिइने

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशभरका सौन्दर्य प्रतियोगिता अस्थायी रूपमा रोक्दै युवतीहरूलाई विज्ञान, प्रविधि तथा इन्जिनियरिङतर्फ आकर्षित गर्ने अभियान थालेको छ।

सन् २०२६ को जुनमा सरकारले सबै सौन्दर्य प्रतियोगिता निलम्बन गर्ने घोषणा गरेको थियो। त्यसको करिब दुई महिनापछि सरकारले युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतियोगिता ‘हाकिली मुसो’ आयोजना गरेको हो।

सैन्य नेतृत्वको सरकारका प्रमुख क्याप्टेन इब्राहिम ट्राओरेले देशको ‘सांस्कृतिक पहिचान, सामाजिक मूल्य र मानव मर्यादा’ संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन्। सरकारले सौन्दर्य प्रतियोगितालाई पनि देशको सांस्कृतिक मूल्य र परम्परासँग अनुकूल बनाउने गरी नयाँ नियम बनाउने तयारी गरिरहेको जनाएको छ।

अगस्टमा आयोजना गरिएको ‘हाकिली मुसो’ विज्ञान प्रतियोगितामा ८४ जना युवती सहभागी भएका थिए। उनीहरूले गणित, भौतिक विज्ञान र रसायनशास्त्रमा प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो।

प्रतियोगितापछि राष्ट्रपति ट्राओरेले विजेता युवतीहरूसँग भेट गर्दै उनीहरूलाई आफ्नो क्षमतामाथि विश्वास गर्न, विज्ञान क्षेत्रमा करियर बनाउन र भविष्यका लागि महत्वाकांक्षी लक्ष्य निर्धारण गर्न प्रोत्साहित गरे।

बुर्किना फासोको सञ्चार, संस्कृति, कला तथा पर्यटन मन्त्रालयले जुन ८ मा जारी गरेको विज्ञप्तिमा नयाँ नियम नबनेसम्म सबै सौन्दर्य प्रतियोगिता अस्थायी रूपमा निलम्बन गरिएको जनाएको थियो।

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

सरकारको निर्णयले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पनि निम्त्याएको छ। कतिपयले युवतीलाई शिक्षा, विज्ञान र रोजगारीका अवसरतर्फ आकर्षित गर्ने पहलको प्रशंसा गरेका छन्।

समर्थकहरूले महिलालाई शिक्षित बनाउँदा परिवार र समाज नै लाभान्वित हुने भन्दै विज्ञान तथा प्रविधिमा युवतीको सहभागिता बढाउने सरकारी प्रयासलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

तर केहीले भने विज्ञानलाई प्रोत्साहन गर्नु सकारात्मक भए पनि त्यसका लागि सौन्दर्य वा अन्य रुचिका क्षेत्रलाई प्रतिबन्ध लगाउनु आवश्यक नभएको तर्क गरेका छन्। उनीहरूले महिलालाई आफ्नो रुचिअनुसार विभिन्न क्षेत्रमा अघि बढ्ने स्वतन्त्रता हुनुपर्ने बताएका छन्।

यस विषयमा सामाजिक सञ्जालमा ‘किन दुवै हुन सक्दैन ?’ भन्ने बहससमेत चलेको छ।

Exit mobile version