भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको संख्या घटेको छैन । अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरूको संख्या उल्लेख्य रहेको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।
यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनाको तुलनामा १२.१ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए ।
समग्रमा पर्यटक आगमन बढे पनि विभिन्न क्षेत्र र देशअनुसारको तथ्याङ्क विश्लेषण गर्दा भने एसियाली बजार फस्टाएको र पश्चिमी बजार खुम्चिएको मिश्रित नतिजा देखिएको छ ।
क्षेत्रीय आधारमा विश्लेषण गर्दा नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) राष्ट्रहरूको रहेको छ । सेप्टेम्बर महिनामा भित्रिएका कुल पर्यटकमध्ये करिब एक तिहाइ अर्थात् ३४.०९ प्रतिशत सार्क राष्ट्रबाट आएका छन् ।
सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ ।
सेप्टेम्बरमा मात्रै १७,४२५ भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हुन आउँछ । भारतीय पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, सार्क क्षेत्रभित्र श्रीलङ्काबाट ७,१०८ (५४ प्रतिशत वृद्धि) र बङ्गलादेशबाट ३,९६४ (३१.५ प्रतिशत वृद्धि) पर्यटक आएर उत्साहजनक उपस्थिति जनाएका छन् । भुटान र पाकिस्तानबाट आउने पर्यटकको सङ्ख्या क्रमशः १,१११ र ४२९ रहेको छ ।
सार्क बाहेकका अन्य एसियाली राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा यस वर्ष सर्वाधिक ५८ प्रतिशतको उछाल आएको छ । समग्र आगमनमा २२.५४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रबाट कुल १९,८८८ पर्यटक भित्रिएका छन् । यो चमत्कारिक वृद्धिको पछाडि चीनको प्रमुख भूमिका रहेको तथ्याङ्कले प्रस्ट पार्छ ।
सेप्टेम्बर २०२६ मा चीनबाट ११,२१२ पर्यटक नेपाल आएका छन् । जुन सन् २०२५ को सेप्टेम्बर (५,२३७) को तुलनामा ११४.१ प्रतिशत अर्थात् दोब्बरभन्दा बढीको वृद्धि हो ।
यसबाहेक अन्य एसियाली राष्ट्रहरू जापानबाट २,०६६ (४५.४ प्रतिशत वृद्धि), मलेसियाबाट १,८७७ (१२.२ प्रतिशत वृद्धि) र दक्षिण कोरियाबाट १,४१२ (४.३ प्रतिशत वृद्धि) पर्यटक नेपाल आएका छन् ।
यसै क्षेत्रका थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले सामान्य गिरावट आएको छ ।
