ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए ।
ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबास (होमस्टे)को विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उनले बताए ।
रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बर्सेनि बढिरहेको छ ।
आर्थिक वर्ष २०८२–८३ मा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको जनाउँदै तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका उनले जानकारी दिए । उनका अनुसार आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका छन् ।
ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि आव २०८२–८३ मा पर्यटक प्रवेश शुल्कबाट रु ४७ लाख ६८ हजार ४०५ र आव २०८१–८२ मा रु ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।
पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायमलगायत पूर्वाधार विस्तारका कारण ढोरपाटनको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको आगमन बढेको हो । आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि रु १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई रु तीन हजार प्रवेश शुल्क लिँदै आएको छ ।
यस्तै आरक्षले ढुङ्गा गिट्टी बालुवाबाट आर्थिक वर्ष २०८२र८३ मा रु एक करोड एक लाख २७ हजार ९५३ सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सङ्कलन भएको राजस्व रु ४६ लाख ४१ हजारले बढी हो ।
“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ । यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार रहेको छ । पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफुल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाइ पर्नु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका हुन्”, सुवेदीको भनाइ छ ।
ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।
समुद्री सतहबाट दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई शुल्क तिरेर पालसहित बस्ने व्यवस्था पनि मिलाइएको छ । – रासस
