स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
अर्जुनचौपारी गाउँपालिका नम्बर ५ आरुचौर बस्ने ३४ वर्षकी शान्ति सिग्देलको करेन्ट लागेर मृत्यु भएको हो । बुधबार बिहान ८ बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी सिग्देललाई तत्काल उपचारका लागि लगिएको थियो । उनलाई सुरुमा आँधिखोला गाउँपालिका नम्बर १ मा रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याइएको थियो ।
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि उनलाई पोखरास्थित गण्डकी अस्पताल पठाइएको थियो । गण्डकी अस्पताल पोखरा पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
डाक्टरले दिउँसो १ बजेर ४२ मिनेटमा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
