गण्डकी सरकारको निर्णयः मृतकका परिवारलाई १ लाख, किरिया खर्च २५ हजार

पोखरा । गण्डकी प्रदेश सरकारले असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति रु. १ लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै, विपद्मा परी घाइते भएका नागरिकलाई उपचार खर्चबापत रु. ५० हजार र मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत रु. २५ हजार उपलब्ध गराउने निर्णय गरिएको छ।

बैठकले बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणसम्बन्धी सम्भव काम तत्काल सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ। साथै, प्रदेशभित्र भएको क्षतिको पूर्ण विवरण तीन दिनभित्र संकलन गर्नसमेत सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ।

गण्डकी प्रदेश सरकारले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कार्य अघि बढाउने जनाएको छ।

Exit mobile version