पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको औपचारिक सुरुवात गर्दै फ्लाई दुबईको विमान बुधबार साँझ ६:१८ बजे सफल अवतरण गरेको छ ।
१ सय ६६ सिट क्षमता रहेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमान सिधै दुबईबाट पोखरा आइपुगेसँगै अन्तर्राष्ट्रिय उडानमो पोखराले इतिहास रचेको छ ।
यसअघि चार्टर्ड उडानमा भर परेको अन्तर्राष्ट्रिय उडान फ्लाई दुबई उत्रिएसँगै आइसब्रेक भएको पर्यटनसम्बद्ध व्यवसायीले जनाएका छन् ।
अझ, ऐतिहासिक पहिलो नियमित उडानमा नेपाली पाइलट सर्बजीत यादव रहेको जानकरी प्राप्त भएको छ । यादव फ्लाई दुबईमा कार्यरत पहिलो नेपाली क्याप्टेन हुन् । उनै यादवले नै यो ऐतिहासिक उडानको नेतृत्व गरेका छन्।
सीता एयर, सिम्रिक एयर र श्री एयरलाइन्समा काम गर्दै उडान क्षेत्रको अनुभव बटुलेका यादवले सन् २००८ देखि उडान सुरु गरेका हुन् । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् ।
सन् २०२५ मा क्याप्टेनमा पदोन्नति भएका यादवका लागि पनि पोखराबाट सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय उडान विशेष थियो ।
