प्रदेशस्तरीय ‘नयाँलिपि फुटसल’को उपाधि एनएसजेएफ गण्डकीलाई

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे)ले जितेको छ ।

शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा आयोजित फाइनलमा एनएफएसजेले नेपाल पत्रकार महासंघ बागलुङलाई २ – ० गोलले पराजित गरी उपाधि हात पारेको हो । गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

साथैं, प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ् (सुमन) घोषित भए । गुरुङ्लाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बागलुङका रोहन जिसी सर्वाेत्कृष्ट खेलाडी घोषित भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

सर्वाेत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर ‘गो बन्जी’मार्फत फ्लाई कूपनसमेत प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेता टिम र खेलाडीलाई विशेष अतिथि गण्डकी विश्वविद्यालयका उपकूलपति डा. कृष्णराज अधिकारीले पुरस्कार प्रदान गर्दै मिडियाकर्मीले खेलमार्फत स्वास्थ्य र भाइचाराको सन्देश दिन खोजेको भन्दै प्रशंसा गरे ।

समापनको अवसरमा बोल्दै डा. अधिकारीले गण्डकी विश्वविद्यालयले पनि खेल व्यवस्थापनको अध्यापन गराइरहेको जनाउँदै आगामी शैक्षिक सत्रदेखि फुटसललाई पन पाठ्यक्रममा समेट्ने योजना रहेको सुनाए ।

‘पत्रकारहरुको जागरुकता, खेलप्रेमप्रति आभार छु’ अधिकारीले भने आगामी दिनमा मिडियासँग सहकार्य गर्दै विश्वविद्यालयले कार्यक्रमका खाका तयार पार्नेछ ।’

प्रतियोगिता उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा, गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रविन्द्रप्रसाद श्रेष्ठलगायतले मन्तव्य राख्दै आयोजकलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न पत्रकार र पत्रकारआबद्ध संस्थाहरुको सहयोगप्रति धन्यवाद दिँदै आउँदो वर्ष प्रतियोगिताको आयतन झनै फराकिलो बनाउने उल्लेख गरे ।

‘प्रतियोगिताको उद्देश्य खेल्नुमात्र नभएर संस्थालाई मानवीय सेवामा जोड्नु पनि रहेको छ’ अध्यक्ष श्रेष्ठले भने ‘यहाँबाट आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितको हितमा खर्च गरिनेछ ।’ श्रेष्ठका अनुसार फुटसलमात्र नभएर कल्पले आगामी दिनमा पत्रकार र व्यावसायिकतालाई सघाउ पुग्ने थप कार्यक्रमको आयोजना गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा पोखरा महानगरपालिका वडा नम्बर १२ र कफीे डि हिमालयज (सीडीएच) रहेका थिए ।

त्यस्तै, सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति – कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति, हिमश्री फुड्स प्रालि र पोखरा महानगरपालिका – वडा नम्बर ३ रहेको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको प्रवद्र्धकका रूपमा परिचय एडभर्टाइजिङ् र लिड्स इभेन्ट्स, एडभेन्चर पार्टनरका रूपमा गो बन्जी र प्रिन्टिंग पार्टनरमा पिएम प्रिन्टिङ एन्ड अफसेट
रहेका थिए ।

प्रतियोगिताको मेडिकल पार्टनरमा गण्डकी मेडिकल कलेज तथा हस्पिटालिटी पार्टनरका रूपमा चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार र इन्स्योरेन्स पार्टनरमा सलिको रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, बाराही स्पोर्टस, डीजे साउण्ड सिस्टमका सञ्चालक मनिस भुज, नृत्य संयोजनतर्फ मनिस भुज र होटल पार्टनरमा होटल एडमायर प्रालि र भेन्यू पार्टनरमा सफल ब्यान्केट, अमरसिंह चौरलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

Exit mobile version