काठमाडौंको बुढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा–तास खेलाउने तथा खेल्ने कार्यमा संलग्न ११ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार बिहान करिब २ बजे बुढानीलकण्ठ नगरपालिका–१, तौलुडस्थित गरुड क्यासिनोमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमा नगद सटही गरेर हारजित हुने गरी जुवा–तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा प्रहरीले नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ। यस्तै, नगद सटहीका लागि प्रयोग हुने विभिन्न दरका १ लाख ७७ हजार ५०० रुपैयाँ बराबरका क्वाइन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद क्वाइनमध्ये ५० हजार रुपैयाँ लेखिएको ८ थान, १० हजार रुपैयाँ लेखिएको १९ थान, १ हजार रुपैयाँ लेखिएको ८८ थान, तथा १०० रुपैयाँ लेखिएको ५ थान रहेका छन्। प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल फोन समेत बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका ११ जनामाथि जुवा सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि दुई दिनको म्याद थप अनुमति लिइएको छ।
घटनामा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउने, जुवा खेलाउने तथा खेल्ने कार्यमा उनीहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
