बालेन भेटेलगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षउपर साढे ९ करोड बिगो दाबी

उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६ करोड ५५ हजारभन्दा बढी बिगो दाबी रहेका फरार प्रतिवादी नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त सिंहदरबारको टोलीले भदौ २९ गते दिउँसो काठमाडौँ महानगरपालिका–२९ हनुमानथानबाट तामाङलाई नियन्त्रणमा लिएको हो। नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भई नयाँबजार बस्दै आएका तामाङमाथि उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा परिसरहरूमा बैंकिङ कसूर र ठगीसम्बन्धी मुद्दाहरू दर्ता रहेका छन्।

पक्राउ परेका तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्रै ३ करोड ४ लाख, १ करोड ५३ लाख, ४८ लाख र ९५ लाख बिगो भएका चार वटा बैंकिङ कसूरका मुद्दा दर्ता छन्। यस्तै, सोही परिसरमा २ करोड ५६ लाख बिगो दाबी गरिएको ठगी मुद्दासमेत गरी काठमाडौँ परिसरमै ८ करोड ५६ लाख बराबरको बिगो दाबीसहित अदालतमा मिसिल पेस भइसकेको छ।

यसैगरी प्रहरी वृत्त जनसेवामा ७५ लाख, प्रहरी वृत्त लैनचौरमा १९ लाख ८० हजार, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजार र जिल्ला प्रहरी परिसर भक्तपुरमा २ लाख बिगो दाबी गरिएका बैंकिङ कसूरका मुद्दा दर्ता रहेका छन्।

प्रहरी वृत्त महाराजगञ्जमा समेत उनको मुद्दा रहेको र बिगो रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Exit mobile version