पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी बस्ती व्यवस्थापन तथा समस्या समाधानका लागि रोकिएको निर्णय प्रक्रिया आउँदो आइतबारदेखि पुनः अघि बढ्ने भएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समितिको आवश्यक निर्णय प्रक्रिया अगाडि बढिरहेको अवस्थामा भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण केही दिन काम रोकिएको जानकारी दिएका हुन्।
बाढीका कारण सबैको कार्यव्यस्तता तथा प्राथमिकता उद्धार र राहतमा केन्द्रित हुन पुगेकाले बसपार्क क्षेत्रको बस्ती व्यवस्थापनसम्बन्धी काम केही दिन रोकिएको मेयर आचार्यले बताएका छन्।
उनले विपद्का बेला सुकुम्बासी बस्ती व्यवस्थापनमा केही दिन ढिलाइ हुनु वा निर्माणका काम केही समय रोकिनुभन्दा नागरिकको उद्धार, राहत, शव व्यवस्थापन तथा मानवीय सहयोगलाई प्राथमिकता दिनु महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
मनसुन पनि क्रमशः रोकिँदै गएको भन्दै मेयर आचार्यले अब बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम पनि सँगसँगै अघि बढाइने बताएका छन्।
उनले यस विषयमा अनावश्यक भ्रम र अन्योलमा नपर्न आग्रह गर्दै आवश्यक प्रक्रिया पूरा गरेर समस्या समाधानतर्फ भइरहेको काममा सम्बन्धित सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
