पोखरा महानगरपालिकाले बहुप्रतिक्षित पोखरा बसपार्क निर्माण र जग्गा व्यवस्थापनको प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको छ ।
बसपार्कको विषयमा सर्वसाधारणमा बढेको चासोलाई सम्बोधन गर्दै महानगरले पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको हो ।
महानगरका अनुसार लालपुर्जा भएका जग्गाधनीहरूको विवरण र क्षेत्रफल यकिन गरी सिफारिस गर्ने न्यायिक निरूपण समिति र सुकुम्बासी पहिचान गर्ने समितिले छानबिन र अध्ययनको काम तीव्र पारेका छन् ।
छानबिनको कार्य अझै नसकिएकाले दुवै समितिको कार्यावधि १५ कार्यदिन थप गरेर असार १७ गतेसम्म पुर्याइएको छ ।
जग्गा सिफारिस समितिले पेस गरेका केही जग्गाहरूमा प्राविधिक जटिलता देखिएकाले त्यसको समाधानका लागि थप समय व्यवस्थापन गरिएको छ । स्रेस्ता (मोठ)मा लालपुर्जा कायम रहेको तर जमिनमा देखिएको प्राविधिक समस्या अध्ययन र परीक्षण गर्न समितिलाई थप १० दिनको समय दिइएको छ ।
यसैगरी, जग्गा विकास ९प्लट निर्माण० को जिम्मेवारी पाएको प्राविधिक समितिको म्याद पनि १० दिन थप गरिएको मेयर धनराज आचार्यले जनाएका छन् ।
बसपार्क क्षेत्र खाली गर्ने सम्बन्धमा महानगरले विशेष योजना बनाएको छ । जसअनुसार बसपार्कको उत्तरतर्फबाट खाली भएको क्षेत्रलाई क्रमशः व्यवस्थापन गर्दै खाली गरिने कार्य अगाडि बढाइने छ ।
महानगरले सुकुम्बासी क्षेत्रको व्यवस्थापन र उचित पुनर्स्थापनाको सुनिश्चिततासहित आवश्यक प्रक्रिया अगाडि बढाइरहेको मेयर आचार्य बताउँछन् ।
आधुनिक र व्यवस्थित पोखरा बसपार्क निर्माण गर्ने साझा लक्ष्यमा सहयोग गर्न आग्रह गर्दै आचार्यले भनेका छन्, ‘यस विषयमा भ्रम फैलाउने, भड्काउने वा तथ्यहीन सूचना प्रवाह नगर्न तथा गैर-सुकुम्बासी व्यक्तिहरूबाट अनावश्यक हस्तक्षेप नगर्न अनुरोध गर्दछौ ।’
बसपार्कको समस्या समाधानका लागि गठित सहजीकरण समितिसँग महानगरपालिकाले निरन्तर समन्वय गरिरहेको छ । आगामी दिनमा पनि सहकार्यका साथ आधुनिक बसपार्क निर्माणको कामलाई निष्कर्षमा पुर्याउने मेयर आचार्यको प्रतिबद्धता रहेको छ ।
