सकडमै महिलाले बच्चा जन्माएपछि सदनमा प्रश्न, छानबिन गर्न टोली राजविराज जाँदै

सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा)का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् ।

उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन ।

महिलासँग २ हजार ५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको उनले बताए ।

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।

यो विषयमा सांसद कर्णले सरकारसँग जवाफ समेत मागेका छन् ।

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको हो।

साथै, मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा। पवनजंग रायमाझी समेत छानबिनका लागि टोलीसँगै राजविराज जाँदैछन्।

मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरणसमेत सोधेको छ। घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

Exit mobile version