झण्डै ३ वर्षयता लेखनाथवासीहरु लेखनाथ नगरपालिका पूनःस्थापनको मागसहित आन्दोलित छन् । उनीहरु सडकमै उत्रिएर प्रदर्शन नगरेपनि घनीभूत छलफल, बहस र योजनासहित पोखरा महानगरको विशाल भूमिमित्र उकुसमुकस भएको दर्शाइरहेका छन् । स्थानीयवासीको यही मुद्दा र चाहनालाई वडा प्रतिनिधिलेसमेत बोकेर अघि बढेको पाइएको छ ।
त्यसो त ‘लेखनाथ नगरपालिका पुनर्स्थापना अभियान’ गठन गरी शालिग्राम पौडेललाई संयोजक तोेकेर पुरानै पहिचान फर्काउन लागिपरेका छन् लेखनाथवासी । यहि विषयवस्तुमा वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेललाई सोधिएको ५ प्रश्नः
– पोखराबाट किन छुट्टिन चाहन्छ लेखनाथ ?
महानगर साह्रै ठूलो भयो । खासमा कवि शिरोमणिको नामबाट चिनिएको भूमि हो हाम्रो । यस चर्चित भूमिलाई पहिलैैकै स्थानमा फर्काउनु पर्छ भन्ने आवाज उठेको हो ।
महानगरवासी हुँदा हाम्रा चाहना, अपेक्षा पनि स्वभावतः ‘ठूलै’ थियो । तर, सोही अनुरुप लेखनाथवसीको सपना पुरा हुनै सकेन । अझ भनौ, हामी सम्भावना बोकेर पनि कसैको आशमा बस्न बाध्य भयौ । हामी हाम्रैै पहिचान जोगाउन अब छुट्टिनै पर्ने मोडमा आइपुग्यौं ।
– पहिले पोखरा महानगरमा समेटिँदा के आशा थियो ?
महानगरमा समेटिँदा हामी गौरवान्वित भएका थियौं । हाम्रा छाति चौडा भएका थिए, शिर उँचो भएका थिए । तर छोटो समयमै हामी निहुँरिदै गयौं । हामीमा महानगरको आभाष नै हुन सकेन ।
लेखनाथवासी र जनप्रतिनिधिको हिसाबाट हेर्दा हाम्रा सामान्य अपेक्षा पनि पुरा हुन सकेनन् । हामीलाई लाग्छ, हामी नगरपालिका नै रहेको भए हाम्रा विकासका सूचक पक्कै सकारात्मक देखिने थिए । विकासले गति लिने थियो । धेरै हदसम्म हामीले आफ्ना माग पुरा गर्ने थियौं ।
खासमा विजयपुर ‘वारी’ र ‘पारी’को परम्परागत घेरोेबाट महानगर अघि बढ्नै सकेन । यहाँ अझैपनि गाडी सडकमै फँस्छ, धकेल्नु पर्छ, क्रेन बोलाउनु पर्छ ।
– छुट्टिनु भन्दा बजेट र योजनाको मागसहित दबाब दिँदा कस्तो होला ?
हामीले भरमग्दुर प्रयास गरेका हौं । के-के गर्ने ? कति गर्ने ? कहिलेसम्म गर्ने ? बजेट र योजनाको माग राख्दा-राख्दा आजित भएका हौं । अधिकतम प्रयासका बावजुद कुनैपनि सम्भावना नदेखेपछि छुट्टिनुको विकल्प नरहेको हो ।
– छुट्टिनै परे उपमहानगरपाालिकामा स्तरोन्नती गर्न सकिँदैन ?
तत्काल अलि कमै सम्भावना छ । स्तरोन्नती त गर्नैपर्छ । यद्यपि, यो केही ठूलो विषय होे । बढी महत्वकांक्षी भएर हामी लेखनाथवासी पछि परिसकेका छौं ।
र, तत्काल उपमहानगरको सोंच प्राविधिकरुपमा उचित नहोला । तर, असजिलो भने छैन ।
– स्थानीय सरकारको समय केही महिनामात्रै बाँकी छ । यस्तोमा महानगरले विशेष सभा डाकेन भने के गर्नुहुन्छ ?
यहाँ कसैले डाक्ने वा नडाक्ने भन्ने चाहसँग जोडिने विषय नै होइन । जिम्मेवार व्यक्ति, पदाधिकारीले बुझ्नुपर्ने कुरा ‘कानून’ हो ।
विशेष सभा कति दिनभित्र डाक्नुपर्छ भन्ने कुरा कानूनले भन्छ ।
मेयरज्यूले कानूनी परामर्श लिन्छु भन्नु भएको छ । लिँदै हुनुहुन्छ होला । कानूनलाई बाइपास गर्ने अधिकार कसैलाई हुँदैन ।
हामीले भदौ २२ गते उहाँलाई हस्ताक्षर बुझाएको हो । अब हामी विशेष सभामा उपस्थित हुने सूचना कुरेर बसेका छौं ।
