बाढीपीडितको राहतस्वरुप लामाचौर नेवाः खलद्वारा ५५ हजार सहयोग

पोखरा: लामाचौर नेवाः खलः गुठी कास्कीले रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

गुठीले आफ्ना ४० घरधुरी सदस्यहरूबाट संकलित ५५ हजार ५५५ रुपैयाँ कोषको हिमालयन बैंकमा रहेको खातामा सोमबार जम्मा गरेको गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण सयौं मानिसको ज्यान गएको, हजारौं प्रभावित तथा बेपत्ता र ठूलो मात्रामा भौतिक क्षति पुगेपछि देश नै शोकमा रहेका बेला सामाजिक उत्तरदायित्वस्वरुप गुठीले सहयोग गरेको हो ।

परम्परा र संस्कृतिको संरक्षणसँगै विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु समुदायको महत्वपूर्ण दायित्व भएको जनाउँदै गुठीले आगामी दिनमा समेत सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गुठीले दिवंगतप्रति भावपूर्व श्रद्घाञ्जलीसहित पीडित परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासहित बेपत्ताको खोजीमा सबैजना जुट्न आग्रह गरेको छ ।

‘परम्पराको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने मूलनाराका साथ पोखरा महानगरपालिकाको प्रवद्र्धनमा, नेवाः खलः कास्कीको आह्वानमा लामाचौर नेवाः खलः गुठीले पोखरामा २७ औं तायाः मचा नृत्य प्रतियोगिता गर्दैछ ।

भदौ २० मा तय भएको उक्त प्रतियोगिता देशमा परेको विपत्ति र असहज परिस्थिति कारण मिति परिवर्तन गरिएको गुठीका सचिब योगेन्द्र श्रेष्ठले बताए ।

लामाचौर मिसः पुचः र लामाचौर ल्याम्ह पुचःको सहआयोजनामा हुने सो प्रतियोगिता अब असोज ३ गते शनिबार लामाचौरमा हुने मूल समारोह समिति संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

गुठीले प्रतियोगिता मिति परिवर्तन भएको जानकारी गराउँदै सम्पूर्ण सहभागी, शुभेच्छुक तथा सम्बन्धित सबैमा असोज ३ गते उपस्थित हुन अनुरोधसमेत गरेको छ ।

Exit mobile version