पोखरा उद्योग वाणिज्य संघको चुनावी माहोलमा संघकै वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य अध्यक्ष पदका लागि एक सशक्त र अनुभवी उम्मेदवारका रूपमा उभिएका छन् ।
झण्डै चार दशक लामो व्यावसायिक यात्रा र उत्तिकै लामो सामाजिक सेवाको अनुभवलाई संस्थाको विकासमा लगाउने दृढ संकल्पका साथ उनी चुनावी मैदानमा होमिएका हुन् ।
उनको व्यावसायिक जग पुख्र्यौली सुनचाँदी व्यवसायको इमानदारिता र लगनशीलतामा अडिएको छ । पोखराको मोहरिया टोलमा आफ्ना अग्रजले सुरु गरेको व्यवसायबाट व्यावसायिक संस्कार सिकेका उनले समयको पदचापलाई पछ्याउँदै आफूलाई विविधीकरणमा अभ्यस्त बनाए ।
२०४२ सालमा चिप्लेढुंगामा ‘एलिगेन्स ट्रेड सेन्टर’ को स्थापना गरेर उनले पोखरामा फर्निसिङ, फर्निचर र इन्टेरियर डिजाइनको क्षेत्रमा नयाँ व्यावसायिक मानक स्थापित गरे ।
बुद्धाचार्यको व्यक्तित्व व्यवसायमा मात्र सीमित छैन, उनले विगत ४० वर्षदेखि आफूलाई सामाजिक सेवाको क्षेत्रमा समेत समर्पित गर्दै आएका छन् । लायन्स क्लब अफ पोखरा लेक सिटीको नेतृत्वदेखि डिष्ट्रिक्टको सिनियर एओजीका रूपमा उनले मानवीय सेवामा पुर्याएको योगदान लोभलाग्दो छ ।
विश्व शान्ति स्तूपको नेतृत्व सम्हाल्दा होस् वा पोखरा संगीत प्रशिक्षण केन्द्रको संस्थापक र नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा तीन कार्यकाल बोर्ड सदस्यका रूपमा काम गर्दा, उनको सक्रियता सधैं उदाहरणीय रह्यो । पोखरा उद्योग वाणिज्य संघको संरचनालाई उनले निक्कै नजिकबाट नियालेका छन् ।
सदस्यका रूपमा एक कार्यकाल, वाणिज्य उपाध्यक्षका रूपमा एक कार्यकाल र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहँदा उनले व्यवसायीका पीर–मर्का र संस्थागत चुनौतीहरूलाई मसिनो गरी बुझ्ने अवसर पाएका छन् । यही अनुभव र परिपक्वता नै अहिले उनीप्रतिको भरोसाको मुख्य आधार बनेको छ ।
आफ्ना छोराहरूलाई विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक भविष्य देखाउन सफल बुद्धाचार्यले अहिलेको बदलिँदो परिवेशमा ‘स्मार्ट बिजनेस’ को अवधारणा अघि सारेका छन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतामा एआई प्रविधि र नेटवर्किङ बिजनेसलाई प्राथमिकता दिँदै परम्परागत व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने ‘लोकल टु ग्लोबल’ अभियान र पोखरेली बजारलाई चलायमान बनाउने ‘बाइ पोखरा’ जस्ता सोचहरू उनले अघि सारेका छन् । युवा तथा महिला उद्यमीहरूका लागि स्टार्टअप सहायता र विशेषज्ञ टोलीमार्फत व्यावसायिक परामर्श दिने उनको योजनाले नयाँ पुस्तालाई समेत आकर्षित गरेको छ ।
‘अनुभव, परिपक्वता, जिम्मेवारी र सुरक्षित व्यवसाय’ को मूल मन्त्र लिएर नेतृत्वका लागि अघि बढेका बुद्धाचार्य पोखरालाई अन्तर्राष्ट्रिय व्यावसायिक केन्द्रका रूपमा विकास गर्ने सपना देख्छन् ।
उनी केवल एउटा अध्यक्षका रूपमा मात्र होइन, संकटमा परेका व्यवसायीहरूको अभिभावक बनेर उनीहरूको हकहितको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।
आइतबार हुने मतदानले पोखराको व्यावसायिक नेतृत्व कसको हातमा सुम्पने छ भन्ने कुराको छिनोफानो गर्नेछ । विगतको निष्ठा र भविष्यको स्पष्ट मार्गचित्रले आफूलाई एक भरपर्दो र गतिशील नेतृत्वका रूपमा भने स्थापित गरिसकेको उनको दाबी छ । ।
