पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यले आफ्नो १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
उनले ‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’लाई मूल ध्येय बनाउँदै संघलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने संकल्प गरेका हुन् ।
बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायीको साझा आवाज र भरोसायोग्य संस्थाको रूपमा विकास गर्ने बताए । उनले अनुभवी, सक्षम र समन्वयकारी नेतृत्व प्रदान गर्दै सबै क्षेत्र, वर्ग र पुस्ताका व्यवसायीलाई समेट्ने योजना अघि सारेका छन् ।
संघका गतिविधि र सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र व्यवसायीमैत्री बनाउँदै सदस्यको विश्वास र अपनत्व बढाउने उनले बताए ।
उनको प्रतिबद्धता पत्रमा नीतिगत पैरवी र सरकारसँग प्रभावकारी सहकार्यलाई विशेष जोड दिइएको छ ।
‘संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै उद्योग–व्यवसायीमैत्री नीति निर्माण र कार्यान्वयनका लागि प्रभावकारी पैरवी गर्नेछुु’, बुद्धाचार्यले भनेका छन् ।
व्यवसायीका कर, कानुन, बैंकिङ, दर्ता र नवीकरण जस्ता प्रशासनिक समस्या समाधानका लागि ‘एकद्वार सहायता केन्द्र’ र ‘विशेषज्ञ सहायता टिम’ स्थापना गर्ने उनले बताए ।
बुद्धाचार्यले युवा, महिला र स्टार्टअप उद्यमशीलता प्रवर्धनका लागि सीप, परामर्श र बजारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।
आधुनिक व्यवसायका लागि डिजिटल प्रविधि र एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग बढाउँदै व्यवसायीको क्षमता अभिवृद्धि गर्ने उनको योजना छ । यस्तै, ‘लोकल टु ग्लोबल’ अभियान मार्फत स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार पहुँचमा सहजीकरण गर्ने उनले बताए ।
परिवर्तित बजार अनुसार व्यवसायी र कर्मचारीका लागि ‘रि-स्किलिङ’ र ‘अप-स्किलिङ’ लगायतका व्यावहारिक सीप विकास कार्यक्रम गर्ने उनले उल्लेख गरे । पोखरा र गण्डकीको पर्यटन र लगानी प्रवर्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र पोखरालाई अन्तर्राष्ट्रिय व्यावसायिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।
बुद्धाचार्यले मेला, महोत्सव र प्रदर्शनीलाई स्थानीय उत्पादन र व्यापार विस्तारको माध्यम बनाउने बताएका छन् । उनले वर्षको मध्यमा ‘मिड-इयर सेल’ कार्यक्रम र विशेष छुटसहितको व्यापारिक मेला आयोजना गर्ने योजना अघि सारेका छन् ।
पोखराका उद्योग–व्यवसाय सम्बन्धी तथ्यांक संकलन गरी ‘व्यावसायिक डाटा बैंक’ स्थापना गर्ने र आधुनिक व्यावसायिक अवसर खोज्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने उनले जनाए ।
उनको योजनामा खेल पर्यटन र लगानी प्रवर्धन, ‘ग्रेटर पोखरा’को अवधारणा र साझेदारी तथा ‘बाई पोखरा’ अभियान मार्फत स्थानीय वस्तु र सेवाको उपभोग प्रोत्साहन गर्ने विषयहरु समेटिएका छन् । ‘व्यवसायीको आवाजलाई नीति निर्माणसँग जोड्दै र पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक गन्तव्यका रूपमा स्थापित गर्न म दृढतापूर्वक अघि बढ्नेछुु’, उनले प्रतिबद्धता व्यक्त गरे ।
बुद्धाचार्य हाल पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुन् । उनी फ्लोरिङ फर्निसिङ व्यवसायी संघको सल्लाहकार, लायन्स क्लब अफ पोखरा लेकसिटीका पूर्व अध्यक्ष र विश्व शान्ति स्तूप समितिका निवर्तमान अध्यक्ष समेत हुन् ।
एलिगेन्स ट्रेड सेन्टर, फोर नाइन ज्वेलरीज, पोखरा एफएम र सिल्भर फोर नाइन बाई तेजसरा ज्वेलर्स प्रालिमा उनको व्यावसायिक संलग्नता छ ।
