पोउवाका अध्यक्ष उम्मेदवार उत्तमद्वारा बाढीपीडितलाई ६१ हजार सहयोग

पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुन गइरहेको ३६ औं महाधिवेशनमा अध्यक्षतर्फ उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्यले भोटेकोशी बाढीपीडितको सहयोगार्थ ६१ हजार १६१ रुपैयाँ दिने बताएका छन् ।

आज पोखरामा सञ्चारकर्मीसँग आफ्नो उम्मेदवारी र घोषणापत्र सार्वजनिक गर्ने क्रममा बुद्धाचार्यले उक्त रकम घोषणा गरेका हुन् ।

‘मेरो प्रतिबद्धता सार्वजनिकसँग आज मेरो जन्मदिनसमेत परेको छ’ बुद्धाचार्यले भने ‘यस विशेष अवसरमा बाढीपीडितको सहयोगार्थ ६१ हजार १६१ रुपैयाँ प्रदान गर्नेछु ।’

उनले आफ्नो उम्मेदवारी कुनै गुट उपगुटको पक्षमा नभई समग्र व्यवसायीको पक्षमा भएको बताउँदै मतदानको आग्रह समेत गरेका छन् ।

बुद्धाचार्य हाल पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुन् । उनी फ्लोरिङ फर्निसिङ व्यवसायी संघको सल्लाहकार, लायन्स क्लब अफ पोखरा लेकसिटीका पूर्व अध्यक्ष र विश्व शान्ति स्तूप समितिका निवर्तमान अध्यक्ष समेत हुन् ।

एलिगेन्स ट्रेड सेन्टर, फोर नाइन ज्वेलरीज, पोखरा एफएम र सिल्भर फोर नाइन बाई तेजसरा ज्वेलर्स प्रालिमा उनको व्यावसायिक संलग्नता छ ।

Exit mobile version