पोखराको याम्दी खोंचबाट एक महिलाको जीवितै उद्धार

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा चौरस्थित याम्दी नदीको भीरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।

बुधबार बिहान भीरबाट महिला कराएको आवाज आएपछि खटिएको संयुक्त प्रहरी टोलीले ती महिलाको उद्धार गरेको हो ।

बिहान करिब सवा ८ बजेको समयमा याम्दी नदीको भीरबाट महिला कराएको आवाज सुनिएको सूचना प्राप्त भएको थियो ।

सो सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले खोजतलास गर्दै जाँदा याम्दी खोलाको खोच किनारमा पोखराको बुद्धचोक बस्ने २२ वर्षकी देवी सुनारलाई घाइते अवस्थामा फेला पारेको हो ।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल कास्की पठाइएको छ ।

उनको अवस्था केही गम्भीर रहेको र हाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Exit mobile version