बाढी पीडितलाई नेहाको ‘न्यानो’, २५ लाखको रेडिमेड कपडा सहयोग

पोखराको न्यूरोडस्थित नेहा कलेक्सन (निभा, दी फ्यामिली स्टोर्स)ले २५ लाख ५ हजार रुपैयाँ बराबरको रेडिमेड फेन्सी कपडा सहयोग गरेको छ ।

गत बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति भएको भन्दै विपद्मा सहयोग गरेको स्टोर्सका प्रोपाइटर विष्णु थापाको भनाई छ । थापाको अनुसार सहयोगार्थ कपडा तत्काल प्रयोग गर्न मिल्ने नयाँ रेडिमेड कपडा हुन् ।

सहयोग गरिएका कपडा १ हजार ६ सय ४९ थान रहेको स्टोर्सकी निर्देशक सरिता थापाले जानकारी दिइन् । उपलब्ध कपडाहरु बच्चादेखि वयस्क सबै उमेर समूहलाई समेट्ने प्रकारको भएको बताउँदै थापाले लक्षित समूहलाई प्रदान गर्न आग्रह गरेकी छिन् ।

उक्त सहयोग कास्की क्षेत्र नम्बर २ का सांसद उत्तमप्रसाद पौडेलमार्फत संघ सरकारलाई हस्तान्तरण गरिएको हो ।

कलेक्सनले यसअघि पनि भूकम्प, कोरोना र अनेकन् विपद्मा नगद र जिन्सी सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गरिरहेको छ ।

उक्त सहयोग बुझ्दै सांसद पौडेलले कलेक्सनलाई धन्यवाद दिएका छन् । ‘विपद्को घडीमा तपाइले गर्नुभएको सहयोग अमूल्य छ’, सांसद पौडेलले भने ‘मनकारी व्यक्तिहरुको सहयोगले हामी पुनः उठ्नेछौं ।’

साथै, पौडेलले आम पोखरेलीसमक्ष सहयोगको अपीलसमेत गरेका छन् ।

यसैबीच, थापा दम्पत्तिले विपदबाट मृत्यु हुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

Exit mobile version