बाढी पीडितलाई हिमालयको साढे ११ लाख सहयोग

हिमालय आँखा अस्पताल पोखराले रसुवाका बाढी पीडितको राहतका लागि ११ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।

अस्पताल व्यवस्थापन समितिको बैठकले कर्मचारी र समितिका सदस्यहरूबाट संकलित उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेत्र ज्योति संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बाढीबाट प्रभावितहरूका लागि यो रकम संकलन गरिएको बताए ।

विभिन्न तहका कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरूले आफ्नो पारिश्रमिक र स्वैच्छिक योगदानबाट उक्त रकम जुटाएका हुन् । अस्पतालले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

थापा मगरले बाढीपछि राहत र उद्धारमा खटिने सुरक्षाकर्मी तथा अन्य निकायप्रति आभार व्यक्त गरे । उनले सरकारले राहत र उद्धारको कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘राहत र उद्धारका कामहरू तदारुकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउँछौँ,’ उनले भने । थापा मगरले सबैलाई यो संकटको समयमा मानवीय सहयोगमा जुट्न आग्रहसमेत गरे ।

Scroll to Top