शरिरमा मात्र एकसरो ‘टाई’ थियो, जसले शवको ठेगाना बताइरहेको थियो

शनिबार अपरान्ह पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत बुधबार रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरुका आफन्तले शव हेर्दै, पहिचान गर्ने क्रममा भेला भएका थिए । अर्थात्, शनिबार अन्य दिनको तुलनामा बढी थिए ।

हेर्न निकै सकस पर्ने र विचलित पार्नसक्ने तस्बिरलाई पहिचान गर्न हम्मेहम्मे परेकोबेला एउटा बालकको शव त्यही थियो । उक्त शव कसको हो ठम्याउन गाह्रो भएपनि उनी कहाँका हुन् भन्ने पहिचान गर्न भने सहज थियो ।

र, त्यो सहजताको कारण थियो टाई । पुरै नग्न शरीरमा थियो त केवल घाँटीमा कस्सिएको टाई, जसमा अंग्रेजी अक्षरमा ‘यूपीइएसएस’ लेखिएको थियो । जसको अर्थ उत्तरगया पब्लिक इंग्लिस सेकेण्डरी स्कुल भन्ने लाग्थ्यो ।

टाइकै कारण पहिचान गरेपछि उनका आफन्तले शव लिएर नुवाकोट फर्किइसकेका छन् ।

नुवाकोटको उत्तरगया पब्लिक स्कुलका विद्यार्थीमध्ये अहिलेसम्म ४० प्रतिशत विद्यार्थीमात्र सम्पर्कमा रहेको बताइएको छ । स्कुल प्रशासनले बताए अनुसार त्यसदिन ३ सय ७० बढी विद्यार्थी आएका थिए ।

जसमध्ये कक्षा ७ देखि १० सम्मका विद्यार्र्थी आफै उकालो भाग्न सफल भएका थिए ।

यता, प्रतिष्ठानका स्वास्थ्यकर्मी भने हालसम्म शवको पहिचान हुन नसक्दा हैरान भएका छन् । मान्छेपिच्छेलाई एउटै शव बाराम्बार देखाउनु, फेरि पोको पारेर राख्नु गर्दा शव गल्ने क्रम तीब्र भइरहेको छ ।

मृतकका परिवारजनको साटो आफन्त र नातेदारहरु आएको बताउँदै उनीहरुले शव चिन्न नसकेको प्रतिष्ठानले जनाएको छ । शवगृहमा कार्यरत स्वास्थ्यकर्मी भन्छन् परिवारकै मान्छेलाई शरिरका विभिन्न निशान, घाउखत, ट्याटुबारे जानकारी हुन्छ, आफन्तलाई भने गाह्रो परिरहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म १०२ वटा शव प्राप्त भएका छन् । आइतबार दिउँसोसम्म १२ वटा शवको पोस्टमार्टम आफन्त एवं परिवारलाई बुझाइएको उनले जानकारी दिए ।

साथै, अस्पतालले प्राप्त शवहरुको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ ।

प्राप्त शवको पहिचान गरी परिवार तथा आफन्तलाई हस्तान्तरण गर्ने प्रयोजनका लागि प्रतिष्ठान हातामा ‘हेल्प डेस्क’ स्थापना गरी सञ्चालन तथा व्यवस्थापन गरिएको छ ।

तथ्यांक अनुसार तनहुँबाट २३ वटा शव प्राप्त भएका थिए । त्यसैगरी गोरखाबाट ४१ र धादिङबाट २७ वटा शव ल्याइएको थियो । यसरी प्रतिष्ठानमा जम्मा १०२ वटा शव संकलन भएका छन् ।

हालसम्म प्राप्त शवहरुमध्ये ५७ वटाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने ४५ वटा शवको पोस्टमार्टम हुन बाँकी रहेको छ ।

पोस्टमार्टम सम्पन्न भई परिवारलाई हस्तान्तरण गर्ने प्रयोजनका लागि ९ वटा शव मनिपाल शिक्षण अस्पतालमा पठाइएको छ । जसमा २ वटा बच्चा र ७ वटा वयस्कको शव रहेको अस्पतालले जनाएको छ ।

Scroll to Top