गण्डकी प्रदेश सभाका कर्मचारीदेखि सभासदले उठाएको सवा ११ लाख राहत कोषमा

रसुवाका बाढीपीडितको राहतका लागि गण्डकी प्रदेश सभा सचिवालयले ११ लाख १७ हजार ९ सय ९४ रुपैयाँ सङ्कलन गरी प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको छ।

प्रदेश सभा सदस्य, प्रदेश सभा सचिव, सचिवालयका कर्मचारी, स्वकीय र हलुका सवारी चालकहरूको भदौ महिनाको तलबबाट कट्टी गरी उक्त रकम जुटाइएको हो।

‘विपद्का बेला सामाजिक तथा मानवीय दायित्व पूरा गर्ने उद्देश्यले प्रदेश सभा सदस्य र कर्मचारीहरूबाट तलब कट्टी गरी राहत कोषमा रकम जम्मा गरिएको हो,’ गण्डकी प्रदेश सभाका सचिव गोविन्द पौडेलले भने।

सचिवालयका अनुसार प्रदेश सभाका सदस्यहरूबाट ७ दिनको तलब बापत ६ लाख ११ हजार २ सय ४७ रुपैयाँ र सभामुख तथा उपसभामुखको ७ दिनको तलब बापत २८ हजार ८ १२ रुपैयाँ सङ्कलन गरिएको छ।

त्यसैगरी प्रदेश सभा सचिवको १० दिनको तलब बापत २६ हजार ४ सय ३० रुपैयाँ, सचिवालयका विभिन्न दर्जा तथा श्रेणीका कर्मचारीहरूको ५ देखि ७ दिनको तलब बापत १ लाख ६६ हजार ५ सय २८ रुपैयाँ र सभामुख-उपसभामुखका करार स्वकीय तथा हलुका सवारी चालकहरूको २ देखि ७ दिनको तलब बापत २३ हजार ४ सय ३९ रुपैयाँ कट्टी गरिएको छ।

यसैगरी पदाधिकारीका अन्य हलुका सवारी चालकहरूको २ दिनको तलब बापत २१ हजार ५ सय ५२ रुपैयाँ र सचिवालयका करार हसचालक तथा कार्यालय सहयोगीहरूको २ देखि ५ दिनको तलब बापत ३३ हजार ७ सय ८६ रुपैयाँ कट्टी गरी कुल ११ लाख १७ हजार ९ सय ९४ रुपैयाँ राहत कोषमा पठाइएको हो।

Scroll to Top