सरकारको ध्यानाकर्षण गराउन विद्यार्थीले दाउरा बालेर खिर पकाए

पोखरा । पछिल्लो समय देशभर देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले सांकेतिक विरोध प्रदर्शन गरेको छ । ग्यास अभावका कारण सर्वसाधारणसँगै विद्यार्थीको दैनिक जीवनसमेत प्रभावित भइरहेको भन्दै कमिटीले क्याम्पसको मुख्य गेटअगाडि दाउरा बालेर खिर पकाएको हो ।

ग्यासको अभावका कारण खाना पकाउनसमेत समस्या भइरहेको अवस्थामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले दाउरा बालेर खिर पकाइएको अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीले जनाएको छ । पकाइएको खिर विद्यार्थीहरूलाई वितरणसमेत गरिएको थियो ।

तीज पर्वको अवसरलाई समेत जोडेर आयोजना गरिएको उक्त कार्यक्रम सामान्य रूपमा खिर पकाएर खाने कार्यक्रम नभई ग्यास अभावका कारण विद्यार्थी तथा आम नागरिकले भोगिरहेको समस्या र पीडाप्रति सरकारलाई सांकेतिक रूपमा प्रश्न गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रममार्फत सरकारले तत्काल ग्यासको आपूर्ति सहज बनाउन तथा आम नागरिकले भोगिरहेको दैनिक समस्याको समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष नविन अधिकारीले ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारणले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताए ।

दाउरा बालेर खिर पकाउने कार्यक्रम सरकारको ध्यानाकर्षण गराउने सांकेतिक माध्यम भएको बताउँदै उनले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको ग्यास आपूर्ति तत्काल सहज बनाउन सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए ।

यसअघि पनि अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटीको अगुवाइमा ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई लक्षित गरी ४० वटा ग्यास सिलिण्डर वितरण गरिएको थियो ।

ग्यासको अभाव लम्बिँदै जाँदा खाना पकाउनेदेखि दैनिक जीवनयापनसम्म समस्या बढ्दै गएको भन्दै कमिटीले समस्या समाधानका लागि सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेको छ ।

Scroll to Top