बाढीपीडितको सहयोगार्थ गण्डकी सरकारको ४ करोड सहयोग

रसुवासहित विभिन्न जिल्लामा बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ दिने निर्णय गरेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार अपिल जारी गर्दै विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

बाढीबाट रसुवा र नुवाकोट पुगेका गण्डकी प्रदेशसहित स्वदेश तथा विदेशका नागरिकसमेत प्रभावित भएको र कतिपय सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको भन्दै प्रदेश सरकारले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

मुख्यमन्त्री पाण्डेले सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार तथा प्रभावितका लागि सुरक्षित आश्रय, खाना र राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

उनले विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा भएकाले उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था तथा आम नागरिकलाई राहत तथा सहयोगमा जुट्न अपिल गरेका छन्।

Exit mobile version