‘भदौ दोस्रो सातादेखि पोखरामा कित्ताकाट खुल्नेछ’ – मेयर आचार्य

पोखरा महानगरका मेयर धनराज आचार्यले सरकारको निर्देशन अनुसार महानगरका सबै वडाको जग्गा वर्गीकरण कार्य सकिएसँगै कित्ताकाट खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

मेयर आचार्यले दिएको जानकारी अनुसार महानगरपालिकाका सबै वडामा ढिलोमा भदौ २५ गतेसम्म कित्ताकाट खुल्ने भएको छ ।

महानगरपालिकाले करिब ४ लाख ५० हजार कित्ता जग्गालाई प्रकृति अनुसार १२ वटा क्षेत्रमा वर्गीकरण गरेको छ । जसमा आवासीय, कृषि, व्यावसायिक, औद्योगिक र खानी तथा खनिज क्षेत्र छन् ।

यस्तै निर्माण सामग्री उत्खनन, सांस्कृतिक तथा पुरातात्विक महत्व, ताल र नदी–नाला क्षेत्रका रुपमा पनि जग्गा छुट्याइएको छ । वन, सार्वजनिक उपयोग, जोखिम क्षेत्र र सरकारी आबादी गरी वर्गीकरण कार्य टुंगो लागेको मेयर आचार्यले जानकारी दिए ।

हाल महानगरमा जग्गा वर्गीकरणमाथि दाबी–विरोध तथा सच्याउने प्रक्रिया चलिरहेको छ । यसका लागि अब ४ दिन मात्र समय बाँकी रहेको आचार्यले बताए । यो समय सकिएपछि महानगरले वर्गीकरण प्रमाणित गरी भूमि प्रशासन कार्यालयमा पठाउनेछ । त्यसपछि सबै वडामा कित्ताकाट पूर्ण रुपमा सुचारु हुनेछ ।

मेयर आचार्यका अनुसार हालसम्म वडा नम्बर ११ बाहेक वडा नम्बर १ देखि १२ सम्म कित्ताकाट खुला भइसकेको छ । बाँकी रहेका वडाहरुमा भदौ २५ गतेसम्ममा कित्ताकाट खुल्ने उनले जानकारी दिए । अंशबन्डा जस्ता घरायसी प्रयोजनका लागि भने हाल पनि कित्ताकाटमा कुनै बन्देज नरहेको उनले स्पष्ट पारेका छन् ।

‘धेरै साथीहरुले कित्ताकाट कहिले खुल्छ भनेर सोधिरहनुभएको थियो, त्यसैले यसबारे जानकारी दिएको हुँ,’ मेयर आचार्यले भने । जग्गाको प्रकृति अनुसार वैज्ञानिक वर्गीकरण गरेपछि भूमि व्यवस्थापनमा सहज हुने विश्वास महानगरले लिएको छ ।

वडा तहबाट वर्गीकरण सम्बन्धी दाबी–विरोधका निवेदनहरु प्राप्त भइरहेकाले त्यसको समाधान गरेर मात्र अन्तिम प्रतिवेदन पठाइने उनले बताए ।

यसअघि जग्गा वर्गीकरण नहुँदा लामो समयदेखि कित्ताकाट रोकिएको थियो । यसले गर्दा जग्गा कारोबार र घरजग्गा व्यवसायीहरु मर्कामा परेका थिए ।

महानगरले वर्गीकरण कार्यलाई तीव्रता दिएसँगै अब कित्ताकाट सहज हुने देखिएको छ । आफ्नो जग्गाको वर्गीकरणमा चित्त नबुझेमा वा सच्याउनु परेमा अझै ४ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सकिने मेयर आचार्यले उल्लेख गरे । यो प्रक्रिया सकिएपछि पोखरामा जग्गाको कित्ताकाट र किनबेचमा देखिएको अन्योल हट्नेछ ।

Exit mobile version