पोखरेली पर्यटन व्यवसायीले भेटे यूएईका राजदूत, पर्यटन र उडानको चर्चा

पोखराका पर्यटन व्यवसायीहरुले पोखराबाट दुबईका लागि हुने अन्तर्राष्ट्रिय उडानबारे युएईका राजदूत अब्दुल्लाह साइद मुवारक जरवान अलसाम्सीसँग भेटेर छलफल गरेका छन् ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी सहितको टोलीले राजदूत अलसाम्सीसँग भेटेका हुन् ।

पोखराबाट दुबईको हुने नियमित उडान समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि भएको व्यवसायीहरूले बताएका छन् ।

यसलाई सफल र दीगो बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए ।

छलफलका क्रममा दुबई जाने कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रियालाई तत्काल हटाउन सम्भव नभएपनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन आग्रह गरेका थिए ।

यस विषयमा महामहिम राजदूतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको श्रेष्ठले जानकारी दिए ।

पोखरा–दुबई उडानलाई सफल बनाउन पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय सरकारलगायत सबै सम्बन्धित पक्षले आ–आफ्नो क्षेत्रबाट पूर्ण सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Exit mobile version