पोखरा । पोखराका विद्यार्थीले संसदीय खुलापन र अभ्यासका विषयमा जानकारी लिएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार यस विषयमा अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गरिएको हो । युवा लक्षित संसदीय पहुँच कार्यक्रमअन्तर्गत भएको यो कार्यक्रममा पोखराका विभिन्न विद्यालयका ८० जनाभन्दा बढी विद्यार्थी सहभागी थिए । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर गैह्रापाटन र गण्डकी प्रदेश सभा सचिवालयको सहकार्यमा यो कार्यक्रम भएको हो ।
प्रदेश सभा सचिवालयका कानुन अधिकृत रामबहादुर थापाले संसदीय खुलापन र अभ्यासका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गराए । उनले नेपालमा संघीय शासनको स्थापना र त्यसपछिका तीन तहको सरकारको कार्यक्षेत्रका बारेमा प्रस्ट पारे । संघीय संसद र प्रदेश सभाको क्षेत्राधिकार र यसको कार्यविधिबारे पनि थापाले जानकारी दिए । उनले प्रदेश सभाको अहिलेको अवस्थिति र यसअन्तर्गतका विषयगत समितिले गरेका कामबारे चर्चा गरे । प्रदेश सभाले हालसम्म गरेका गतिविधि र त्यहाँ हुने अन्य क्रियाकलापबारे समेत विद्यार्थीलाई जानकारी गराइएको थियो ।
नेकपा एमालेकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीले लामो संघर्षले अहिलेको शासन व्यवस्था प्राप्त भएको बताइन् । ‘अहिलेको शासन व्यवस्था प्राप्तिका लागि पुराना राजनीतिक दलले ठूलो संघर्ष गरेका छन्, यो कुरा विद्यार्थीले स्मरण गर्नुपर्छ,’ उनले भनिन् । विद्यार्थीले राजनीतिमा चासो दिएर प्रदेश र संघीय सांसदले गरेका कामको निगरानी गर्नुपर्ने त्रिपाठीको भनाइ थियो । सरकारले बाटो बिराएको खण्डमा प्रदेश सभा सदस्य वा संघीय तहमा सांसदले सचेत गराउनुपर्ने उनले उल्लेख गरिन् । उनले प्रदेश सभा र प्रतिनिधि सभामा प्रमुख सचेतकको भूमिकाका बारेमा समेत जानकारी दिइन् ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका अध्यक्ष प्राध्यापक डाक्टर विश्वकल्याण पराजुलीले कलेजले स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको बताए । विद्यालय लक्षित यस्ता कार्यक्रमले विद्यार्थीलाई राजनीतिप्रति चासो जगाउने उनको विश्वास छ । ‘यस्ता कार्यक्रमले जनप्रतिनिधिले के काम गरिरहेका छन् भन्ने कुराको निगरानी गर्न सहयोग पु¥याउँछ,’ पराजुलीले भने । उनले लेकसिटी कलेजले मासिक रुपमा कचहरी समेत सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीले संघीयता र कानुन निर्माणका विषयमा जिज्ञासा राखेका थिए । पश्चिमाञ्चल माविका विद्यार्थी कुवेर पाण्डे लगायतले कानुन निर्माणमा हुने ढिलाइबारे प्रश्न गरे । कानुन बनाउन धेरै प्रक्रिया पूरा गर्नुपर्ने भए पनि प्रदेश र प्रतिनिधि सभा किन अलमलमा परेका होलान् भन्ने उनीहरूको जिज्ञासा थियो । विद्यार्थीले नेपालमा संघीयताको औचित्य र यसको महत्वका बारेमा पनि चासो व्यक्त गरे । यस्ता कार्यक्रम निरन्तर भएमा आगामी दिनमा संसदीय अभ्यास बुझ्न सहज हुने सहभागीको भनाइ थियो ।
अन्तरक्रियामा पोखराका फेवा शिक्षा सदन, पश्चिमाञ्चल मावि, माउन्ट अन्नपूर्ण स्कुल, न्यु ग्यालेक्सी मावि र हिल प्वाइन्ट बोर्डिङ स्कुलमा ११ र १२ अध्ययनरत विद्यार्थी सहभागी थिए । लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको विषयवस्तुबारे जानकारी दिए । उत्प्ररेक उपेन्द्र पौडेलले करिअर निर्माणका क्रममा युवाहरुले भोग्ने असहज अवस्थाका बारेमा सहजीकरण गर्दै उच्च शिक्षाका लागि सही ठाउँ रोज्न आग्रह गरे ।
कार्यक्रम संयोजक एवं संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले मञ्चले यसअघि जनप्रिय बहुमुखी क्याम्पस गण्डकी प्रदेश सभाका काम कारवाही र पश्चिमाञ्चल माविमा नेपालमा संघीयता अवसर र चुनौती बारेमा वक्तृत्वकला प्रतियोगिता गरिएको जानकारी दिए । युवा विद्यार्थीलाई संघीयता र यसले नागरिक स्तरमा पारेको प्रभावबारे जानकारी दिन कार्यक्रम गरिएको उनले जानकारी दिए ।
