दिगो पर्यटन विकासमा होटल संघको ‘हस्पिटालिटी एक्स्चेञ्ज’

होटल संघ पोखरा नेपालको आयोजना तथा स्वीस कन्ट्याक्ट र युनाईटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धि एक कार्यक्रम सम्पन्न भएको छ ।

डेभलपिङ इन्क्लिुसिभ एण्ड ग्रिन अपरच्युनिटी (डिगो) हस्पिटालिटी एक्स्चेञ्ज – २०२६ नाम दिएर यो कार्यक्रम आयोजना गरिएको हो ।

दिगो पर्यटन विकासका लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल क्षेत्रमा पानीको उचित सदुपयोग, फोहोरको पुनः प्रयोग तथा दिगो व्यवस्थापन र उर्जाको किफायति प्रयोगलाई कार्यक्रमले प्रमुख रुपमा जोड दिएको अध्यक्ष सुवेदीले बताए ।

हरित पर्यटनको विकास, होटलका सदस्यहरुको हित तथा संख्यात्मक भन्दा गुणस्तरीय पर्यटनलाई जोड दिंदै संघले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै यस्ता कार्यक्रम आयोजना गरेको जानकारी पनि उनले दिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पानीको सही सदुपयोग होटल क्षेत्रका लागि मात्र नभई सबैका लागि महत्वपूर्ण पक्ष भएको भन्दै यसको आबश्यक मात्रा मात्रै सदुपयोग गर्दा पनि धेरै पानी जोगिन सक्ने भनाई राखे ।

अमेरिकातिर इको टुरिजम भन्ने गरिए पनि युरोपमा दिगो पर्यटनलाई जोड दिने गरिएको अनुभव सुनाउँदै उनले पोखराले दिगो पर्यटन विकासको क्षेत्रमा राम्रै प्रगति हाँसिल गर्दै गरेको बताए ।

युनाईटेड कम्युनिटी नेपाल (युनिकोन)का कार्यकारी निर्देशक विनोद न्यौपानेले होटल तथा पर्यटन क्षेत्रमा दिगो पर्यटन विकासको अभ्यासलाई जोड दिने गरी आफ्नो संस्थाले व्यवसायीसँग सहकार्य गरिरहेको जानकारी गराए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका विभागीय प्रमुख मनहर कडरियाले वातावरण संरक्षणको ख्याल गर्दै कसले कम भन्दा कम कार्वन उत्सर्जन गर्यो भन्ने विषय समेत आधुनिक विश्वको मुद्दा बन्न पुगेको भनाई राखे ।

कार्यक्रममा पर्यटन शिक्षा, पर्यटन प्रबद्र्धन दिगो पर्यटन विकास, वातावरण संरक्षण, सौर्य उर्जा, फोहोर व्यवस्थापन, पानी व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका झण्डै एक दर्जन संस्था र विज्ञका तर्फबाट विभिन्न प्रस्तुतीहरु राखिएका थिए ।

होटल क्षेत्रले हरित र दिगो पर्यटन विकासमा गरेको कामको प्रमाणिकरणमा टेवा पुग्ने हिसावले केकस्ता पक्षलाई अँगाल्न सकिन्छ भन्ने विषयमा पनि विज्ञहरुले सो अवसरमा प्रस्तुती दिएका थिए ।

सो अवसरमा रोहिणी इञ्जिनियरिङ सर्भिस प्रालि, जानकी इनर्जी प्रालि, प्रकृति कन्सल्ट प्रालि, फाइव हन्ड्रेड बी सोलुसन प्रालि, डोको रिसाइकलर्स, स्मार्ट पानि प्रालि, अस्टक इञ्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रालि, सस्टेनेविलिटी सोलुसन्स नेपाल प्रालि लगायतका संस्था र विज्ञको प्रस्तुतीलाई समेटिएको छ ।

Exit mobile version