कल्प मिडियाको आयोजनामा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने

कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ ।

पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरािसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।

अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।

खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने आयोजकले बताएको छ ।

एउटा टिममा ८ जना खेलाडी र २ जना अफिसियल गरी कुल १० जनाको सहभागिता रहने नियम बनाइएको छ ।

खेलाडीको विवरण फर्म दर्ता गरेपछि कुनै परिवर्तन गर्न नपाइने आयोजकको भनाई छ ।

प्रतियोगिता मिडियामैत्री भएकाले पत्रकार वा संचारकर्मी मात्र सहभागी हुनुपर्नेछ । यस प्रदेशको जुनसुकै जिल्लामा कार्यरत पत्रकार वा संचारकर्मीले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

बाहिरी जिल्लाबाट आउने खेलाडीका लागि आयोजकले २ छाक खाना र १ रात बस्ने व्यवस्था भएको श्रेष्ठले जानकारी दिएका छन् ।

खेल सुरु हुनु २ दिनअघि नै प्रत्यक्ष प्रसारणमार्फत ‘टाईसिट’ सार्वजनिक गरिनेछ । सहभागी टिमले खेल सुरु हुनु १ घण्टाअघि नै आयोजकलाई सम्पर्क गर्नुपर्ने र प्रतियोगितामा अनुशासन कायम गर्नुपर्ने नियम तय गरिएको आयोजकले जनाएको छ ।

Exit mobile version