पीयूमा इन्जिनियरिङतर्फ पहिलोपटक ‘पीएचडी’को पठनपाठन सञ्चालन

पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन सञ्चालनमा ल्याएको छ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा पीएचडी अध्ययनका लागि आवेदन आह्वान गरेको हो।

अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरिएको विश्वविद्यालयले जनाएको छ। इच्छुक उम्मेदवारले २०८३ भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

पीएचडी प्रवेश परीक्षा आगामी भदौ १२ गते बिहान ११ बजेदेखि १ बजेसम्म कास्कीको ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा हुनेछ। व्यक्तिगत अन्तर्वार्ताको मिति भने प्रवेश परीक्षाकै दिन घोषणा गरिने संकायले जनाएको छ।

आवेदन शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। योग्यता पुगेका उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

Exit mobile version