पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय अन्तर्गतको शिक्षण अस्पतालले विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा कर्मचारी माग गरेको छ।
अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामार्फत पदपूर्ति गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।
सूचना अनुसार अस्पतालले उप-प्राध्यापक, अधिकृत र सहायक स्तरका कुल १४ जना कर्मचारीहरू माग गरेको छ। जसमा जनरल सर्जन, जनरल फिजिसियन, इ.एन.टि सर्जन र साइकियाट्रिक्स विषयका उप-प्राध्यापकहरू रहेका छन्।
त्यसैगरी, ६ जना मेडिकल अधिकृत, एक जना बायोमेडिकल इन्जिनियर, एक जना फार्मेसी अधिकृत र एक जना फार्मेसी सहायकका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारले आगामी २०८२ माघ २ गते कार्यालय समयभित्र पोखरा-३०, खुदीस्थित शिक्षण अस्पतालको कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ। आवेदन फाराम विश्वविद्यालयको आधिकारिक वेबसाइट www.pu.edu.np बाट डाउनलोड गर्न सकिने अस्पतालले जनाएको छ।
आवेदनका साथमा शैक्षिक योग्यताका प्रमाणपत्र, सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र अनुभवका कागजातहरू पेश गर्नुपर्नेछ। परीक्षा दस्तुर पद अनुसार १,५०० देखि २,८०० रुपैयाँसम्म तोकिएको छ, जुन कामना सेवा विकास बैंकमा रहेको अस्पतालको खातामा जम्मा गर्नुपर्नेछ।
सूचनामा उल्लेख भए अनुसार, लिखित परीक्षा आगामी २०८२ माघ ७ गते सञ्चालन हुनेछ। उप-प्राध्यापक र अधिकृत स्तरका लागि बिहान ८:०० बजे र सहायक स्तरका लागि दिउँसो १:०० बजे परीक्षा समय तोकिएको छ।
परीक्षा केन्द्र पोखरा विश्वविद्यालयको स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजमा रहने जानकारी दिइएको छ।
न्यूनतम योग्यताको हकमा उप-प्राध्यापकका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण भई २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष) हुनुपर्ने प्रावधान राखिएको छ।
