नयाँलिपिः गण्डकी विश्वविद्यालयका कूलपति प्राडा गणेशमान गुरुङको कार्यकाल फागुन ३ गते सकिएको छ ।
गुरुङको कार्यकाल सकिएपछि विश्वविद्यलायले उक्त पदमा इच्छुक व्यक्तिहरूबाट दरखास्त आव्हान गरेको छ।
कुलपति सिफारिस समितिद्वारा स्वीकृत “गण्डकी विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१” अनुसार आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
योग्य तथा इच्छुक व्यक्तिहरूले कार्यविधिको अनुसूची-१ मा उल्लिखित ढाँचाअनुसार फारम भरी आवश्यक कागजात संलग्न गरी दरखास्त पेश गर्न सक्नेछन्। सूचना पहिलो पटक प्रकाशित भएको मिति फागुन २१ बाट १५ दिनभित्र कार्यालय समयभित्र दरखास्त दिनुपर्नेछ।
दरखास्त विश्वविद्यालयको पोखरा महानगरपालिका-१७ स्थित कार्यालयमा पेश गर्न सकिनेछ। सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट दरखास्त दिन सकिने उल्लेख गरिएको छ।
दरखास्तका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ, जुन गण्डकी विश्वविद्यालयको ल्ःद्य बैंक, अमरसिंह चोक शाखामा जम्मा गर्नुपर्नेछ। विस्तृत जानकारीका लागि गण्डकी विश्वविद्यालयको वेबसाइट www.gandakiuniversity.edu.np मा हेर्न सकिनेछ।
गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ ।
जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् ।
समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर छिटै नै दरखास्त आह्वान गरिएको हो । त्यसो त थप एक पदावधिको लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ ।
विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुनेछ ।
सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपतिका नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।
गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ ।