स्कार्पियो खोल्सामा खस्दा उच्च अदालतका न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कार्पियो मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

भीमफेदी गाउँपालिका-६ स्थित जुरीखेलमा मंगलबार बिहान करिब ७ बजे प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा परेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी र रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडू घाइते भएका छन्। दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

त्यस्तै, दुर्घटनामा रजिस्ट्रार बडूकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडू गम्भीर घाइते भएकी छन्। उनका २५ वर्षीय छोरा रितेन्द्र बडू, ३१ वर्षीया दिदी रिता बडू र गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Exit mobile version