नेपाली खेल जगतको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’का लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेको नाममध्ये हाल यूएफसीको केजमा पुग्न संघर्षरत फाइटर रविन्द्र ढाँटको नामसमेत परेको छ ।
ढाँटसँगै मनोनित अन्य नाममा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल रहेका छन् ।
‘बझाङी बाघ’ भनेर चिनिने ढाँट मिक्स मार्शल आर्ट विधाबाट मनोनयमा परेका हुन् ।
ढाँट गत वर्ष म्याट्रिक्स फाइट नाइट–१७ का बेन्टमवेट च्याम्पियन बनेका थिए। उनी एसिया–प्यासिफिक क्षेत्रमा २०५औँ वरीयतामा रहेका छन्। ढाँट रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटरसमेत हुन्।
ढाँटले वेन्टमवेटमा यही अगस्त २८ तारिख न्यूजील्याण्डका कसिब मुर्डाेचसँग चीनको सांघाई इन्डोर स्टेडियममा फाइट खेल्नेछन् ।
आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट खल्ती बाई आइएमइमा प्राप्त मतका आधारमा विजेता चुनिने छ ।
