युद्ध जितेका सिपाही, शान्तिको खोजीमा ‘योगी’ बने

पोष्टमा भएको खसी हरायो र खोज्न जादा माओवादीको ब्रिफिङ गरिरहेको ठाँउमा पुगे सिपाही गोपिनाथ योगी।

२०६१ सालको पौष महिना। कडा जाडोको समय। लमजुङको बाहुनडाँडा भिरपुस्तुन क्षेत्रमा रहेको रिपिटर टावरमा सिपाही गोपीनाथको तैनाथी थियो। त्यो ठाउँमा सेनाको एउटा सानो टुकडी थियो एक सेक्सनभन्दा पनि कम संख्यामा रहेका सिपाहीहरू।

त्यो दिन संयोगले एउटा अनौठो घटना भयो। पोस्टमा रहेको खसी हरायो। खसी खोज्दै जाँदा सिपाही गोपीनाथ त्यस्तो ठाउँमा पुगे, जहाँ माओवादीहरू ठूलो आक्रमणको योजना बनाउँदै आफ्ना लडाकुहरूलाई ब्रिफिङ गरिरहेका थिए।

सायद त्यो संयोग थियो, सायद भगवानको कृपा !

गोपीनाथ पोस्टमा फर्के र आफूले देखेको कुरा सुनाए। त्यसपछि पोस्टमा रहेका सबै सिपाही तत्काल युद्धको तयारीमा जुटे। युद्ध आउनु अघि नै तयारी गर्ने समय पाउनु सैनिकका लागि ठूलो अवसर थियो।

केही समयपछि आक्रमण सुरु भयो।

माओवादीहरूले माथिबाट रुखको आड लिएर एलएमजीबाट फायर गरे। दुई इन्च मोर्टार पनि प्रयोग गरे। तर यसपटक सिपाहीहरू तयार थिए। पूर्वतयारी र दृढ प्रतिरोधका कारण आक्रमणकारी पक्षले ठूलो क्षति व्यहोर्नुपर्‍यो।

भिडन्तपछि पोस्टको परिधिमै घाइते तथा मृत माओवादीहरू देखिए। करिब नौ जनाको शव त्यही क्षेत्रमा रहेको बताइन्छ। बाटाभरि सकेट बमहरू छरिएका थिए।

माओवादीहरू आफ्ना केही साथीहरूका शवसमेत उठाउन नसकी पछि हटेका थिए।

घटनास्थलबाट एसएमजी, एलएमजी, दुई इन्च मोर्टारलगायतका हतियार फेला परे। उनीहरूले आफैंले निर्माण गरी प्रयोग गरेका भनिएका तीनवटा इम्प्रोभाइज्ड ग्रेनेड लन्चरसमेत भेटिएका थिए।

त्यो दिन सिपाहीहरूले आफ्नो पोस्ट जोगाए। आफू बाँच्न र आफ्नो जिम्मेवारी पूरा गर्न लडे। तर युद्ध जितेपछि पनि गोपीनाथको मनले भने त्यो युद्ध जित्न सकेन।

किनकि गोलीको अर्को छेउमा पनि आफ्नै देशका दाजुभाइ थिए।

उनी भन्छन् ‘लडियो, किनकि ज्यान जोगाउनु थियो। गोली चलाइयो, मानिसहरू घाइते भए। तर युद्ध सकिएपछि पनि मनभित्रको अशान्ति सकिएन।’

सायद त्यही युद्धको पीडा र मानवीय संवेदनाले उनलाई अर्को बाटो खोज्न प्रेरित गर्‍यो हिंसाबाट शान्तितर्फको बाटो।

अन्ततः पूर्वसैनिक गोपीनाथले सांसारिक जीवनभन्दा आध्यात्मिक जीवन रोजे। उनी योगी बने । साधना गर्दै योगीहरूको उच्च तह पीर महन्तसम्म पुगे।

हिजो बन्दुक बोकेर युद्धभूमिमा उभिएका ती हातहरू आज शान्तिको सन्देश बोकेर उठेका छन्।

युद्धले उनलाई जित्न सिकायो, तर जीवनले उनलाई शान्तिको अर्थ सिकायो।

स्रोतः डा सिपाही

युद्ध जितेका सिपाही, शान्तिको खोजीमा ‘योगी’ बने

Exit mobile version