बाँदर आतंकदेखि सडक सुरक्षासम्म: पोखरा २६ का नागरिकले वडाध्यक्षलाई सोधे प्रश्न

पोखरा महानगरपालिका नम्बर २६ का नागरिकले बाँदर आतंक नियन्त्रणदेखि सडक सुरक्षासम्मका विषयमा स्थानीय वडा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले गाउँमा बाँदरले फलफूल र तरकारी केही बाँकी नराखेको भन्दै आक्रोश पोखे ।

‘बाँदरले घरका भाँडा समेत बोकेर हिँड्न थालेका छन्, फलफूल र तरकारी सबै सखाप पारे,’ नागरिकले गुनासो गर्दै भने, ‘बाँदर धपाउन हेरालो राखिदिनु पर्‍यो ।’ बाँदर आतंक रोक्न सरकारले विशेष कानुन र व्यवस्था गर्नुपर्ने माग वडा सदस्य सुदिपराज ढुंगानाले गरे ।

कार्यक्रममा पृथ्वीराजमार्गको स्तरोन्नतिसँगै सडक फराकिलो हुँदा बाटो काट्न मुस्किल भएको र दुर्घटना बढेको विषय पनि उठाइएको थियो । नागरिकले मुख्य मुख्य चोकमा अन्डरपास र आकाशेपुल निर्माणका लागि पहल गरिदिन माग गरे । राजमार्गको डुम्रेदेखि पोखरासम्म कुनै पनि ठाउँमा अन्डरपास र आकाशेपुल निर्माण गरिएको छैन । लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले गाडी तीव्र गतिमा आउँदा जेब्राक्रसले समेत यात्रुको सुरक्षा गर्न नसकेको बताए । उनले राजमार्गका सबै बजार चोकमा यो समस्या रहेको भन्दै आवाज उठाए ।

सार्वजनिक सुनुवाइमा जवाफ दिँदै वडाध्यक्ष नरेन्द्र थापाले राजमार्ग निर्माणको डिजाइन गर्ने समयमै सवारी चाप र जनघनत्वको आकलन नगर्दा यस्तो समस्या आएको बताए । सुरक्षित यात्राका लागि आवश्यक उपायका विषयमा आयोजनासँग छलफल गरिने उनले जानकारी दिए ।

नागरिकले कुकुरको बिगबिगी नियन्त्रण गर्न समेत माग गरे । घरपालुवा कुकुर डोर्‍याएर हिँड्नेहरूले अर्काको घर अगाडि दिसापिसाब गराउने गरेको भन्दै त्यसलाई रोक्न माग गरियो । वडाध्यक्ष थापाले नागरिकले कुकुरलाई बुबाआमा भन्दा पनि प्यारो गरी पाल्ने तर डुलाउने नाममा अरूलाई असर पार्न नहुने बताए । टोल विकास संस्था मार्फत अब घरपालुवा कुकुरको तथ्यांक राखिने उनले जानकारी दिए ।

भित्री सडकमा बत्ती नहुँदा राति हिँड्न कठिन भएको गुनासोका सन्दर्भमा वडाध्यक्ष थापाले ३० लाखको टेन्डर भइसकेको बताए । ‘उज्यालो वडा कार्यक्रम’ मार्फत सडक बत्तीको समस्या सम्बोधन गरिने उनले स्पष्ट पारे । वडाले भौतिक पूर्वाधार मात्र नभई क्षमता विकास, बालबालिकाका लागि ‘वडाध्यक्षसँग बालबालिका’ र ‘बुक फ्री डे’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

यसैगरी नागरिकले सार्वजनिक जग्गा संरक्षण, खाष्टे, गुँदे र न्यूरेनी तालको मापदण्डका कारण घरखर्चका लागि जग्गा बेच्न नपाएको गुनासो समेत गरे । वडाध्यक्ष थापाले करोडौंका योजना सम्पन्न हुँदा पनि नागरिकको सन्तुष्टिको मापन साना योजनाले गर्ने गरेको टिप्पणी गरे ।

कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले सुकुम्बासीका नाममा तत्कालीन भूमि आयोगले गलत निर्णय गर्दा जनप्रतिनिधिको चरित्रहत्या भएको गुनासो गरे । वडाका सूचना अधिकारी नवराज सापकोटाले गत आर्थिक वर्षको सेवा प्रवाह र विकास निर्माणको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

वडा सदस्यहरू सुजता सुनार, लक्ष्मी देवी भट्टराई, वडा सचिव लीलामणि भण्डारी, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा र शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी लगायतले नागरिकका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

Exit mobile version