विजयपुर खोलाले बगाएका २ बालकको खोजीमा ४ जिल्लाका सुरक्षाकर्मी परिचालन

कास्कीको पोखरास्थित विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन् । उनीहरुलाई शनिबार १ बजे खोला तर्ने क्रममा बगाएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका नम्बर २६, सकनेरी भगवती हाइड्रोपावर नजिकै पर्ने विजयबस्तीबाट खोला पार गरी वडा नम्बर २६ सकनेरीतर्फ आउने क्रममा दुई बालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका, वडा नम्बर ७ घर भई हाल पोखरा महानगरपालिका नम्बर १४, छिनेडाँडा आर्मी पोल्ट्रिडमा बस्ने चन्द्र बहादुर गुरुङका छोरा अन्दाजी वर्ष १४ का निकसन गुरुङ रहेका छन् ।

त्यसैगरी खोटाङ जिल्ला, खोटाङ नगरपालिका घर भई हाल पोखरा महानगरपालिका नम्बर १४, चाउथेमा डेरा गरी बस्ने सुवास राईका छोरा अन्दाजी वर्ष १५ का ओमन राई पनि बेपत्ता भएको प्रशासनले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ उपलब्ध साधनस्रोत र उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरी खोजी सुरु गरिएको भए पनि बालकहरू हालसम्म फेला परेका छैनन् ।

खोजी कार्यलाई तीव्र बनाउन र हराइरहेका बालकहरूको अवस्था पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय, कास्कीले छिमेकी जिल्लाहरू तनहुँ, चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)सँग समेत समन्वय गरी प्रहरी परिचालन गरेको बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले उल्लिखित नाम, थर गरेका बालकहरू सम्बन्धी कुनै जानकारी प्राप्त भएमा तुरुन्त नजिकको प्रहरी वा निःशुल्क आपतकालीन नम्बर १०० वा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर १२३४ मा सूचना उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

Exit mobile version