नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ठोस र स्पष्ट कार्ययोजनाविना हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको घोषणा गर्नुलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बन्द उद्योगलाई आधुनिक प्रविधि र कुशल व्यवस्थापनसहित दिगो रूपमा चलाउने योजना ल्याउन सरकारसँग माग गरेका छन्।
महासचिव पोखरेलले नयाँ सरकार गठन हुनासाथ हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गर्ने र केही दिन चलेको देखावटी नाटक गरेर पुनः बन्द हुने पुरानै नियति दोहोरिने गरेको उल्लेख गरेका छन्।
‘राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ,’ पोखरेलले लेखेका छन्।
स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना केवल लहडका भरमा उद्योग खोल्न खोजिए पुरानै असफलताको पुनरावृत्ति हुने दाबी गर्दै उनले प्रचारमुखी शैली त्यागेर दीर्घकालीन पुनरुत्थानको बाटो रोज्न आग्रह गरेका छन्।
हेटौँडा कपडा उद्योग: राजनीतिक स्टन्ट कि दिगो सञ्चालन ?
नयाँ सरकार बनेपिच्छे हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गरिन्छ, केही दिन चलेको नाटक पनि देखाइन्छ। तर, केही समय नबित्दै उद्योग पुनः बन्द हुने पुरानै नियति दोहोरिन्छ।
राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ।
स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ!
