कास्की प्रहरीको ‘स्वीप अप्रेसन’मा २० जना पक्राउ

पोखराका विभिन्न पर्यटकीय तथा व्यस्त क्षेत्रहरूमा प्रहरीले चलाएको ‘स्वीप अप्रेसन’का क्रममा २० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार साउन २२ गते रातिको समयमा पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न स्थानमा उक्त अप्रेसन चलाइएको थियो ।

पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक र लेकसाइड एरियामा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, गाँजा तथा लागूऔषध सेवन गरी अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी सर्वसाधारण तथा स्वदेशी र विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने कार्यमा संलग्न रहेका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्ति नम्बर ३२ मा उल्लेख भएअनुसार शान्ति सुरक्षा कायम गर्न र पर्यटकीय क्षेत्रमा हुने अवाञ्छित क्रियाकलाप रोक्न प्रहरीले सक्रियता बढाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

Exit mobile version